लुम्बिनी

सङ्क्रमण देखिएपछि सिल बाँकेका तीनवटा कार्यालय आइतबारबाट पुनः सुचारु



नेपालगञ्ज ३२ साउन । कर्मचारीमा कोरोना भारइरसको सङ्क्रमण देखिएपछि सिल गरिएका बाँकेका तीनवटा प्रमुख सरकारी कार्यालयहरू आइतबारबाट पुनः सुचारु गरिएका छन् ।सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने नेपालगञ्जमा रहेका आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालय आइतबारबाट सर्वसाधारणका लागि पुनः खोलिएका हुन् ।

     आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले चारजना अधिकृतलगाययत अन्य कर्मचारी र उनका आफन्त गरेर १३ जनामा सङ्क्रमण पुष्टि भएपछि गत तीन सातादेखि सिल रहेको राजस्व कार्यालय आइतबारबाट सुचारु गरिएको बताउनुभयो ।

         उहाँले राजस्व कार्यालयका सबै कर्मचारी र उनका आफन्त निको भएर डिस्चार्ज भएपछि कार्यालय भवन तथा कर्मचारी निवास दुवैलाई तीन तीन पटक स्यानिटाइज गरेर कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रमुख पौडेलले सामाजिक दूरीका साथै मास्कको प्रयोग गर्नेलाई मात्र कार्यालयमा प्रवेश गर्न दिइएको जनाउनुभयो ।

             यस्तै जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई सातादेखि सिल गरिएको नेपालगञ्ज उप–महानगरपालिका कार्यालय पनि आइतबारदेखि सञ्चालनमा ल्याइएकोे छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा सुचारु गरिएको बताउनुभयो ।

उहाँले उपमहानगरका सम्पूर्ण २३ वटै वडा कार्यालयहरू पनि आइतबारदेखि नै सुचारु गरिएको बताउनुभयो ।

         नेपालगञ्ज उप–महानगरपालिकामामा कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने व्यवस्थासमेत मिलाइएको उप–महानगरपालिकाले जनाएको छ ।

            सोही प्रकारले कम्प्युटर अपरेटरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द रहेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय पनि आइतबारबाट नै सञ्चालनमा आएको सो कार्यालयले जनाएको छ ।
कर्मचारीमा सङ्क्रमण देखिएको बाँके जिल्ला अदालत पहिले नै सञ्चालनमा आइसकेको छ भने ४२ जना प्रहरीलाई सङ्क्रमण देखिएपछि बन्द रहेको वडा प्रहरी कार्यालय नेपालगञ्ज भने अझै बन्द नै रहेको छ । सो कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६