अन्तर्राष्ट्रिय

कतारले श्रमिकको न्यूनतम ज्याला तोक्यो



 कतार १५ भदौँ । कतारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ ।आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको अलजजिराले खबरमा उल्लेख गरेको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।

     यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ । अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।

      कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउनेछ । कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ । आइएलओले कतार सरकारको यो निर्णय श्रमिकहरुका लागि कोशेढुङ्गा सावित हुने बताएको छ ।खाडीको देश कतार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमध्ये एक हो । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने निश्चित भएसँगै आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियमहरु परिवर्तन गरिरहेको छ ।

        कतार सरकारको पछिल्लो यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकलाई पनि फाइदा पुग्नेछ । यसअघि कफाला नियमले श्रमिकलाई श्रम शोषणमा पारेको थियो । तर कतारले पछिल्लो समय गरेको यी निर्णयले कफाला प्रणालीलाई कमजोर बनाउदै लैजाने विश्वास लिइएको छ । कतारबाट श्रमिकले चाहेमा कतारको श्रम कानुन अनुसार श्रमिकहरु रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन सक्छन् । कतार सरकारको यो निर्णयले श्रमिक र रोजगारदाता दुवैलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउँदा रोजगारदाताले पनि आफ्नो काममा उपयुक्त श्रमिक छान्ने पाउनेछन् । यसले दुवै पक्षलाई फाइदा पुग्छ ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६