बुटवल —
कोरोनाका कारण गुमेको रोजगारी सिर्जना गर्न र युवालाई कृषि व्यवसायमा लगाएर उत्पादन बढाउन भन्दै प्रदेश ५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सुरु गरेको छ । विदेशबाट आएकालाई कृषि स्वरोजगार कार्यक्रम, एक स्थानीय तह एक उत्पादन र साना यन्त्र वितरण कार्यक्रम योजनामा समावेश छन् । रोजगारी गुमाएका युवालाई कृषि व्यवसायमा लगाउन र कृषि उत्पादन बढाउन प्रदेशका सबै स्थानीय तहमा कोभिड विशेष कृषि कार्यक्रम लागू गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ ।
कार्यक्रम अन्तरगत प्रदेशका १ सय ९ वटै स्थानीय तहमा कोभिड(१९का कारण विदेशबाट फर्केका एक सय जनाले कृषि व्यवसाय गर्न अनुदान पाउने छन् । मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि बनाएर स्थानीय तहमार्फत उपलब्ध हुनेगरी एक युवालाई २० हजारका दिनेगरी रकम पठाएको मन्त्रालयका योजना तथा अनुगमन शाखा अधिकृत सञ्जय ढकालले बताउनुभयो । ढकालका अनुसार कृषि उत्पादनमा सहयोग पु¥याउन एक स्थानीय तहमा ५० जनालाई साना यन्त्र वितरण गरिँदै छ ।
प्रतिव्यक्ति ३५ हजारका दरले रकम दिन हरेक स्थानीय तहमा २० लाखका दरले रकम पठाइएको छ । एक स्थानीय तह एक उत्पादन प्रवर्द्धनमा प्रत्येक स्थानीय तहलाई १७ लाखका दरले रकम विनियोजन भएको छ । उक्त रकम स्थानीय तहले रोजगारी गुमाएका किसान छनोट गरी आफ्नो स्थानीय तहको पहिचान हुनेगरी कृषि व्यवसाय गर्न अनुदान दिने छन् ।
प्रतिक्रिया