बुटवल ४ असोज ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाले १६ हजार परिवार भन्दा बढी अब्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहिनहरूको लगत संकलन गरेको छ । भूमीतथा आवासविहिनको समस्यालाई दीर्घकालिन रूपमै समधानको पहलका लागि यस्तो गरेको हो । संघीय सरकारले भूमिसंग सम्बन्धित समस्या समाधान आयोग गठन गर्नुअघि नै बुटवलले भूमिसम्बन्धी समस्याको दीर्घकालिन पहल सुरु गरेको थियो ।
बुटवल उपमहानगरले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको लगत संकलन गर्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको क्षेत्रबाटै वैज्ञानिक नापजाँचको काम सुरु गरेको थियो ।वडा नं. ११ मा अहिले दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरिएको र सबै वडामा क्रमश नापजाँच गरिने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । आइतबारदेखि थप एक सय विगाहा जग्गामा नापजाँच गर्ने काम शुरू भएको छ । पहिलो चरणमा वडा नं ११ कै करिब ८० विगाहा जग्गामा नापजाँचका काम भइसकेका छन् ।
बुटवलका करिब १६ हजार घरधुरीहरको लगत संकलन गरिसकिएको छ । कुन वडामा कति अव्यवस्थित बस्ती छन् भन्ने कुराको लगत संकलन संगै अहिले दोस्रो चरणमा नापजाँचको काम अगाडि बढेपछि स्थानीय खुशी भएका छन् । बुटवलका वडा नं. ११ बाट सुरु भएको जग्गा नापजाँच तथा अभिलेखिकरणको काम अब १९ वटै वडाहरूमा क्रमश हुने प्रमुख सुवेदीले बताए।बुटवल उपमहानगरपालिकाले कार्यपालिका बैठकबाटै कार्यविधि बनाएर कानुन सम्मत रुपमा लगत संकलन र नापजाँचका काम सुरु गरेको हो । तथ्यांक संकलनलाई विवादरहित र न्यायपूर्ण बनाइएको दाबी गर्दै प्रमुख सुवेदीले थप प्रभावकारी कामका लागि सामाजिक संघ–संस्था, नागरिक समाज तथा टोलविकास संस्थाका साथै प्रत्येक वडाका प्राविधिक र जनप्रतिनिधिहरूलाई समन्वयमा खटाइएको बताए।
बुटवल उपमहानगरले सार्वजनिक जग्गाको संरक्षणका काम पनि संगसंगै अगाडि बढाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उनले १९ वटै वडामा रहेका सार्वजनिक जग्गाको लगत संकलन गरिएको र कतिपय ठाउँमा तत्कालै संरक्षण गर्नुपर्ने भएकाले संरक्षणको काम भइरहेको बताए । वडा नं. १२ को भैरवा टोलमा यस्तै जग्गा संरक्षण गर्दै त्यहाँ नमुना ट्रान्सपोर्ट भिलेज बनाउने काम भइरहेको प्रवक्ता रेग्मीले जनाए ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले सार्वजनिक जग्गा संरक्षण गर्दै भूमि बैंक, श्रम बैंकको स्थापना, कृषि उत्पादकत्व बृद्धिका लागि अध्यय्न कार्यदलसमेत बनाएर काम भइरहेको बताए ।उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत जग्गाको वैज्ञानिक नापजाँचका लागि प्राविधिक साझेदारका रुपमा क्रिएसन एजुकेसनल एण्ड कन्स्ट्रक्सन प्रालि छनौट भएको थियो । सोही संस्थाले अहिले दोस्रो चरणको नापजाँचको काम भरिरहेको वडा नंं.११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । नम्बरी जग्गाको सीमालाई आधार मानेर नापजाँच तथा अभिलेखीकरण गरिएको र सर्वसम्मत रुपमा वैज्ञानिक तरिकाले काम अगाडि बढेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।
प्रतिक्रिया