कपिलवस्तु १२ असोज । कपिलवस्तुको डुमरा महाराजगञ्ज सडक समयमै मर्मत नहुदा स्थानीयबासीले सास्ती भोग्दै आएका छन् । वर्षाद सगै सडकमा यत्र तत्र ठूला ठूला खाडलहरु हुदा सर्वसाधरणलाई पैदल यात्रामा समेत निकै सास्ती भोग्नु परेको स्थानिय रामनिवास चौधरीले गुनासो गर्नु भयो । पटक पटक स्थानिय जनप्रतिनिधिलाई सडक बारे जानकारी गराउदा पनि वेवास्ता गरेको स्थानियको गुनासो रहेको छ ।
आ.व. २०७६/०७७ मा डुमरा, महाराजगञ्ज, हरदौना सडकको ठेक्का पाएको प्रो.अशोक कुमार गुप्ता रहेको जय माता जी कन्टक्सनले ठेक्का पाएको भएपनि कोभिडको कारण देखाउदै ठेकेदारबाट काम सम्पन्न नहुदा बजेट फ्रिज भएको प्रदेश सभा सदस्य तथा प्रदेश सामाजिक विकास समितिका संयोजक दीर्घनारायण पाण्डेले बताउनु भयो । प्रदेश सभा सदस्य दीर्घनारायण पाण्डेले आ.व. २०७६०/७७ को २ करोड बजेट कोभिडका कारण फ्रिज भएको स्पष्ट पार्दै आ.व. २०७७/०७८ मा डुमरा महाराजगञ्ज, हरदौना सडकको बहुवर्षिय योजनाका लागि २ करोड ५० लाख बजेट बिनियोजना भएको र टेन्डर प्रक्रिया शुरु भएको जानकारी दिनु भयो ।
यता बुद्धभूमि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कपिल तिवारीले नगरको मर्मत संभारको कोषबाट ५५ ट्राली इट्टाका टुक्राबाट केही स्थानमा मर्मत गरेको बताउदै सडकमा ठूला खाडल पर्दा जनतालाई सास्ती भएको स्वीकार्नु भयो । हतारमा निर्माण गर्ने पछि पछुताउने शैलीका कारण अधिकाशं सडक निर्माणको स्तर नहुदा निर्माणका बेला स्थानियबासी उत्साहित भएपनि छोटै समयमा सडकमा खाडल पर्न थालेपछी समुदायलाई सास्ती भोग्नु परेको छ । विकासका नाममा निर्माण कार्यमा दुरदर्शीता अपनाउन नसक्दा राज्यको श्रोतको सही प्रयोग हुन सकेको छैन ।
प्रतिक्रिया