काठमाडौं १९ असोज । प्रदेश ५ को नाम र राजधानीका विषयमा प्रदेश सभामा पेश भएको प्रस्तावमा सहजीकरण गर्न नेकपा संसदीय दलको बैठक जारी छ। बिहान ८ बजेदेखि सुरु गर्ने भनिए पनि मुख्यमन्त्री शंकर पोखरेल ढिला भएकाले ढिला गरी सुरु भएको नेकपा सांसद इन्द्रजीत थारुले बताए।‘प्रदेशको नाम र राजधानीका विषयमा गत शुक्रबार पेश भएको प्रस्तावमा सहमति गराउन सजिलो होस् भनेर दलको बैठक राखिएको हो‘,’ थारुले भने, ‘सबै सांसदलाई आउन अनिवार्य गरिएको छैन। समय मिलेसम्म प्राय सांसद बैठकमा आउनु भएको छ। यहीँबाट प्रदेशको नाम राजधानी टुंगो लगाउने होइन मोटामाटी सहमति कायम गर्न दलको बैठक राखिएको हो।’
गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्ताव गरिएको थियो। प्रस्तावित स्थायी राजधानीको विपक्षमा हुने नेकपा सांसदहरुले बैठक बाहिर अरु सांसदलाई आउन रोकेको एक नेताले बताए। रुपन्देही, नवलपरासी पश्चिमलगायतका सांसदले संसदीय दलको बैठक बहिस्कार गरेको ती नेताले बताए। प्रदेशमा कुल ८७ सांसद मध्ये नेकपाका ६१ सांसद छन्। नेकपा सांसदसहित सबै सांसदलाई खानाको समेत व्यवस्था गरिएको छ। प्रदेश सभाको वैठक दिउँसो १२ बजेका लागि राखिएको छ ।
नेपाल लाईभ
प्रतिक्रिया