लुम्बिनी

स्थायी राजधानी भालुबाङ बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसद्धारा ह्वीप जारी



बुटवल २० असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताउनुभयो । ‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ कनौडियाले भने, ‘प्रदेशको नामाकरण लुम्बिनीमा भने हाम्रो असहमति छैन ।’मंगलबार  बस्ने प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूचि छ ।

        प्रदेशसभामा  सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ ।उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसकेका छन् । सोमबारको बैठकमा मन्त्री केसीले जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले होहल्ला गर्दै कुर्सी तोडफोड गरेका थिए । कुर्सी तोडफोड गर्ने आफ्ना सांसदहरुलाई कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

   प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र कपिलवस्तुका सांसदलाई राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न कार्यकर्ताको दबाब छ । नोट अफ डिसेन्ट लेखेका १४ जनाले पार्टीको कारवाही भोग्न तयार भएर विपक्षमा मतदान गरेमा भने प्रस्ताव पारित हुन कठिन छ ।

       नेपाली कांग्रेसका १९ जनामध्ये साविक लुम्बिनी अञ्चलका १३ जना र ६ जना साविक राप्ती र भेरी अञ्चलका छन् । कांग्रेसका ६ जना सांसदले ह्वीप उल्लंघन गरेर दाङको पक्षमा मतदान गरेपनि प्रस्तावका पक्षमा ५३ मत हुन्छ र दुई तिहाइ पुग्दैन ।कांग्रेसका सबै सांसदले पार्टीको ह्वीप मानेर दाङको विपक्षमा मतदान गरेमा  नेकपाका १४ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेमा र अन्य साना दलले दाङको पक्षमा मतदान नगरेमा प्रस्तावको पक्षमा दुई तिहाइ पुग्दैन । प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन् । साबिक राप्ती र भेरीका ३६ सांसद छन् ।

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६