अर्थ-वाणिज्य

उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाए



काठमाडौं २५ असोज । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् ।

       उखु उत्पादक संघका सचिव सफीन्द्र प्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।  श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो ।त्यससँगै आफुहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफुहरु मारमा परेको गुनासो सचिव यादवले गरे । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् ।

         त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफुहरु आशावादी पनि किसानहरुको भनाई छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफुहरु अन्योलमा परेको गुनासो किसानहरुको छ ।किसानहरुले आर्थिक वर्ष २०७१\०७२को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५\०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६\०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

   उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका हजारौं व्यक्ति समस्यामा परेकोले हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सूचारु गर्ने वातावरण मिलाइदिन समेत माग गरेका छन् । रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाई छ ।  

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६