बाँके २८ असोज । दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएको छ ।
प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो । सो निर्णय कार्यान्वयन भएसगैँ बाँकेमा उत्साहजनकरूपमा उद्योग दर्ता भएका छन् ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएका थिए । उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन् । रु पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग स्थानीय तहमै दर्ता हुने व्यवस्था छ भने पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग प्रदेशमा दर्ता हुनुपर्दछ ।
रु २० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय बाँकेले घरेलु तथा साना उद्योगीलाई प्रोत्साहनका लागि प्रविधि हस्तान्तरण तथा क्षमता विकाससम्बन्धी तालिम कार्यक्रम तय गरेको छ ।
प्रतिक्रिया