काठमाण्डौ २० कार्तिक । भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।सैनिक मुख्यालयमा भएको कार्यक्रममा उहाँले दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीका साथै भेन्टिलेटर हस्तान्तरण गर्नुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले पनि भारतीय सेनाका लागि नेपालमा नै बनेको एक लाख थान मेडिकल मास्क र बुद्धको प्रतिमा हस्तान्तरण गर्नुभयो ।
यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो । सेनाध्यक्ष नरवणेले बिहीबार नै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोप्नुभयो । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र स्थल सेनाध्यक्ष नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुुभएको थियो ।नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई बिहीबार बेलुका सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष नरवणे १८ औँ सेनापति हुनुहुन्छ ।
प्रतिक्रिया