कपिलवस्तु २२ कार्तिक ।संघिय सरकारले यसवर्षकालागि तोकेको धानको समर्थन मुल्य आफ्नो पालिकामा कार्यान्वयन गराउनु कर्तब्य हो भन्ने बुझाई नहुदा समस्या पैदा भएको छ । कुनैपनि पालिकाले यस प्रकारको पहल गरेका छैनन् । सरकारले हरेक वर्ष धानको समर्थन मूल्य तोक्ने गर्छ । तर समर्थन मूल्यमा खरिद गर्ने केन्द्र नहुँदा कृषकले न्यून मूल्यमा धान बेच्नुपर्ने बाध्यता छ । सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह भने धान बेच्नेबेला कृषकसँग छैन ।
विगत वर्षमा जस्तै कपिलवस्तुका कृषकका लागि धानको समर्थन मूल्य आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ । समयमा मल हाल्न नपाएका किसान बल्लतल्ल फलाएको धान बेच्न पनि बिचौलियाको मारमा परेका छन् । मल अभाव हुँदा पनि कपिलवस्तुमा यस वर्ष धान उत्पादन राम्रै हुँदा कृषकहरू खुसी छन । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने मसिनो जातको धानको २ हजार ८ सय ८५ तोकेको छ ।
तर प्रतिक्विन्टल १ हजार ८ सयमै बिक्री गर्नुपर्ने बाध्यता यहाँका किसानलाई छ । सरकारले तोकेको दरमा धान खरिद गर्न कोही तयार नहुँदा कृषकहरूले सस्तो मूल्यमा धान बिक्री गर्नु परेको छ । कपिलवस्तुमा धान काटेपछि गहुँ रोप्ने बेला भइसक्यो। तर कृषकलाई धान बेच्नुपर्ने समस्या भने यथावत् छ । प्राय किसान धान बिक्री गरी आएको पैसाले गहुँ लगाउने गर्छन्। बिचौलियाहरू त्यही मौकाको फाइदा उठाउँदै १८ सय देखि १९ रुपैयाँ प्रतिक्विन्टलमा धान बेच्न किसानलाई बाध्य बनाउँछन । सरकारले तोकेको उक्त मूल्यमा खरिद गर्ने केन्द्र पनि कपिलवस्तुमा छैन । मल बेच्न गठन भएका कृषि सहकारीसमेत धान खरिदका लागि तयार नभएपछि जिल्लाका किसान थप मारमा परेका हुन्।
प्रतिक्रिया