काठमाण्डौ १ मंसिर सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा सामान्य हिमपातसमेत भइरहेको उहाँले बताउनुभयो ।पश्चिमी वायुको प्रभाव रहेकोले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बादल लागेर सुदूरपश्चिम र कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का केही ठाउँमा सामान्य पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।
प्रतिक्रिया