अर्थ-वाणिज्य

पार्टी एकताबद्ध भएर अघि बढछ : अर्थमन्त्री पौडेल



बुटवल ३० मंसिर ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताउनुभएको छ । नेकपाका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्नुहुँदै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै टिक्ने र पार्टीको घोषणापत्रमा गरिएका प्रतिबद्धता र जनचाहनाअनुरुपका काम पाँच वर्षको अवधिमा पूरा गरेरै छाड्नेछ ।’’

उहाँले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने बताउँदै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हाली ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई पनि त्यस्तो सपना नदेख्न पनि आग्रह गर्नुभयो । “नेकपा र यसको एकताबद्ध अस्तित्वलाई कसैले चुनौती दिन सक्दैन, नेकपा एकताबद्ध भएर अघि बढ्छ”, उहाँले भन्नुभयो, “नेकपामा सूँढ घुसाएर विग्रहको खोजी गर्ने जे जस्ता प्रवृति भएका छन् ती सबै असफल हुन्छन् ।” 

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशमात्र नभएर देशकै केन्द्रका रुपमा विकसित हुँदै गएको उल्लेख गर्दै १० वर्षअगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तीव्र गतिमा अगाडि बढेको बताउनुभयो । उहाँले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सिङ्गो प्रदेशमा नमूना विद्यालयका रुपमा स्थापित गर्न सरकारका तर्फबाट बजेटको कमी नहुने बताउनुभयो । यसैगरी प्रदेशसभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले रुपन्देहीले शिक्षा क्षेत्रको विकासमा फड्को मारेको उल्ल्ेख गर्दै जीवनोपयोगी शिक्षा दिने र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा कान्ति माविको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी प्रदेशमा शिक्षाको केन्द्रका रुपमा बुटवल विकसित हुँदै गएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालयलाई लुम्बिनी प्रदेशमै विज्ञान विषयको केन्द्रका रुपमा विकास गरी खोज, अनुसन्धान र सिकाइको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । सोहीअनुरुप दुई\दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रदेश र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु १३ करोड ६५ लाखमा चारतले ३५ कोठाको विज्ञान भवन र तीन\तीनतलाको २४\२४ कोठाका दुईवटा छात्रावास भवनको शिलान्यास गरिएको हो ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६