दाङ २१ पुस । जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी निर्वाचित भएका छन्।सोमबार राति सार्वजनिक मत परिणामअनुसार कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन्।बुढाथोकीले १ हजार २ सय ५७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी बसन्त जोशीले १ हजार १३ मत प्राप्त गरेका थिए।कोषाध्यक्षमा निर्वाचित पोखरेलले १ हजार २ सय ६३ मत मत ल्याउँदा उनका प्रतिद्वन्द्वी धनपति शर्माले ९ सय ८५ मत पाए। संघमा ४ हजार ३ सय ३८ मतदाता रहकोमा २ हजार ४ सय ३४ मत खसेको निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिए।त्यसमध्ये १ सय ५१ मत बदर भएको घिमिरेले बताए।
सोमबार बिहान आठ बजेदेखि भएको मतदानमा ५६ दशमलव १० प्रतिशत मतदाताले भाग लिएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए। संघको २१ सदस्यीय पदाधिकारीमध्ये नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा यसअघि नै सर्वसहमतिमा पदाधिकारी चयन भइसकेका थिए।
अध्यक्षमा निर्वाचित बुढाथोकी र पराजित जोशी दुबै उपाध्यक्ष थिए। त्यस्तै कोषाध्यक्षमा निर्वाचित पोखरेल पहिला पनि सोही पदमा थिए। उनका प्रतिपर्धी शर्मा भने संघका सदस्य थिए।बुढाथोकी र पोखरेललाई नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीको समर्थन थियो। जोशी र शर्मा भने स्वतन्त्र रूपमा उठेका थिए। नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै जोशी र शर्मालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको थियो।
प्रतिक्रिया