अर्थ-वाणिज्य

बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने



पाल्पा २० फागुन । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् ।  सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् ।राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो बनाउनुपर्नेमा जोड दिएका छन् । पहिले सिद्धबाबा, दोभान क्षेत्रको बाटो निर्माण गर्ने र आवश्यक क्षतिपूर्ति पछि मात्रै बाटो विस्तार गर्नुपर्नेमा स्थानीयको माग छ ।  

डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशन गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका  भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरिसकेको छ ।  बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको  डिभिजन प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।  ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।

जनताको लिखित माग आएपछि  बगनाँसकाली गाउँपालिकाले सडक विभागलाई पत्र लेखेको  छ । बाटो विस्तार हुने जग्गामा अग्रिम चिन्ह लगाउनुपर्ने, केन्द्र , प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने तथा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने गाउँपालिकाको माग छ ।सवारी चापका आधारमा मापदण्ड तयार गर्नुपर्ने, जग्गा खाली गराउने समय तोकिनुपर्ने, मुआब्जाको व्यवस्था गर्नुपर्ने लगायत जनताको माग अनुसार सडक विभागलाई पत्र पठाएको गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो ।  यो सडक वि.स.२०२५ सालमा बनेको हो ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६