प्रदेश

सरकार र जसपा बीच आज कार्यदलस्तरको बैठक बस्दै



काठमाण्डौ २८ फागुन । सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको बैठक बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाले बनाएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले  जानकारी दिनुभयो ।हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको उहाँको भनाइ छ । जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहने गरेर दुई सदस्यीय कार्यदल बनाएको हो ।

सरकारी पक्षको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तामा जसपाकातर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहरु सहभागी हुनुभएको थियो । सरकार पक्षबाट हिजोको छलफलमा नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी हुनुभएको थियो । 

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायत नेता-कार्यकर्ताको रिहा तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । आफूहरुको मागप्रति सरकार सकारात्मक देखिएको जसपाका नेताहरुले बताएका छन् ।सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको छ ।

तर, जसपाले अहिले नै सत्ता समीकरणबारे निर्णय गरिसकेको छैन । पहिले आफूहरुले पहिलेदेखि नै राख्दै आएको माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै आफूहरुले सत्ता समीकरणबारे निर्णय गर्ने जसपाका नेता एवं सरकारसँग वार्ता गर्न बनेको कार्यदल सदस्य कर्णले बताउनुभएको छ । जसपामा निलम्बनमा परेकाबाहेक अहिले ३२ सांसद रहेका छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइराख्न एमालेबाहेक १८ सांसद आवश्यक पर्छ । प्रधानमन्त्री ओली सकेसम्म जसपाको सिङ्गो सहयोग लिने र नसके फुटाएर भए पनि पूर्वराजपा धारलाई आफूतिर तान्ने रणनीतिमा हुनुहुन्छ । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । माओवादी केन्द्रले ओली नेतृत्वको विकल्पमा तीन दलको गठबन्धन बनाउने प्रयास गरिरहेको भए पनि सकिरहेको छैन।तीन दलको गठबन्धन सुनिश्चित भएपछि समर्थन फिर्ताको घोषणा गर्ने र सँगै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी माओवादी केन्द्रको रहेको छ । त्यही रणनीतिलाई असफल बनाउन प्रधानमन्त्री ओली पनि सक्रिय हुनुहुन्छ । माओवादी केन्द्रले जसपा र नेपाली कांग्रेसको साथमा सरकार बनाउने प्रयास गरे पनि त्यो सफल हुन भने सकिरहेको छैन । नयाँ सत्ता समीकरणबारे सबै राजनीतिक दलहरु विभिन्न चरणमा छलफलमा रहेका छन् ।

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६