अर्थ-वाणिज्य

के कारणले रोकियो बुटवल – नारायणगढ राजमार्ग विस्तार ?



नवलपुर ११ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ ।शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो ।आयोजनाले पारिश्रमिक दिन ढिलो गरेको जनाउँदै शुक्रबारदेखि नै मजदूरहरु निर्माण स्थलमा जान छोडेपछि सडक विस्तार ठप्प भएको हो । नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले मजदूर सडक निर्माणमा नआउँदा काम ठप्प भएको जानकारी दिए ।

आयोजनाको खण्ड ९क० को विभिन्न स्थानमा करीब ४०० मजदूरले सडक विस्तारमा संम्लग्न थिए ।सो सडक विस्तार आयोजनाको काम मजदूरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि केही महिना पहिले ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै उनीहरुले हडताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो ।  एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो ।

सरकारका तर्फबाट निर्माण कम्पनीलाई काम अनुसारको भुक्तानी नरोकेको आयोजना प्रमुख दिष्टीले बताए । सडक विस्तारको काम निकै कम भएकाले ठेकेदारले धेरै भुक्तानी दाबी गर्न नपाएको आयोजनाले जनाएको छ ।  निर्र्माण कम्पनीको आन्तरिक समस्या, साइट क्लियरेन्सका लागि स्वीकृति लगायतका कारण निर्माण थालेको दुई वर्षमा चार प्रतिशत मात्रै भौतिक प्रगति गरेका कारण सोही अनुसारको भुक्तानी गरिएको उनले बताए ।

ठेक्का सम्झौता भएर २०७५ साल चैत ८ देखि सो आयोजनाको निर्माण शुरुवात भएको थियो ।  आयोजनाको काम करीब ९६ प्रतिशत बाँकी हुँदा ठेक्का सम्झौताअनुसार अबको १८ महिनाभित्र निर्माणको काम पूरा गर्नुपर्ने हुन्छ । सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउँदा गरिएको अनुमानभन्दा करीब २० प्रतिशत कममा ठेक्का हालेपछि आयोजनाको काम चाइना स्टेट इन्जिनीयरिङ कम्पनीले पाएको थियो ।

हतार हतार काम थालेको घोषणा गरिएको आयोजनाको साइट क्लियर नै नगरी ठेक्का निकालिएको बताइएको छ  ।सडक विस्तारका क्रममा बाटोबाट उत्तरतर्फ पर्ने रूख कटानको काम भए पनि दक्षिणतर्फको रूख कटानमा समस्या देखिएको छ । दक्षिणतर्फ मध्यवर्ती क्षेत्रको वन पर्ने भएकाले रूख कटानमा समस्या उत्पन्न भएको आयोजनाका सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिए ।

रूख कटानको स्वीकृति लिने सबै प्रक्रिया भइसकेको र स्वीकृति पाएपछि दक्षिणतर्फको रूख कटानको काम पनि अगाडि बढ्ने उनले बताए ।  रूख कटान भन्दा पनि सडक विस्तारका क्रममा सार्नुपर्ने विद्युतका पोलहरु समस्याका रुपमा देखापरेको आयोजनाले जनाएको छ ।विद्युतका पोल सार्ने काम निर्माण कम्पनीकै भए पनि नमानेपछि पटकपटक परामर्श दातासमेत राखेर बैठक गरेपछि निर्माण कम्पनी विद्युतका पोलहरु सार्न सहमत भएको उनले बताए । नेपाल विद्युत प्राधिकरणले आयोजनाको सडक विस्तारका क्रममा पर्ने करीब दुई हजार ४०० पोल सार्न करीब रु ३४ करोड दिने जनाएको थियो । 

काम गर्ने स्थानको पोल सार्दै काम गर्न सहज हुने भन्दै निर्माण कम्पनीलाई नै विद्युतको पोल सार्न दिने सहमति भए पनि निर्माण कम्पनीले उक्त सहमति अनुसार पोल सार्न नसक्ने जवाफ दिएको आयोजनका एक कर्मचारीले बताए । उक्त रकममा पोल सार्दा आफूहरुलाई घाटा पर्ने भन्दै पोल सार्ने काम गर्न इन्कार गरेको आयोजनाले जनाएको छ । आयोजनाको ११५ किलोमिटरको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटरलाई खण्ड –क० तथा दाउन्ने–बुटवल खण्डको ५० किलोमिटरलाई खण्ड ९ख० बनाएर निर्माणको काम भइरहेको छ । एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा विस्तार भएको आयोजनाको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ ।लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी रहने आयोजना प्रमुख दिष्टीले जानकारी दिए ।अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनका बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । यसमा फूल र साना बिरुवाहरु रोपेर सडकलाई सुन्दर बनाइने ढाँचामाछ ।

साढे तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । सडक विस्तारपछि पनि निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मत सम्भारको काम गर्नुपर्ने सर्त छ । रासस

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६