प्रदेश

आज प्रतिनिधि सभा बैठक बस्दै



काठमाण्डौ १८ चैत्र । आज प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।आजको बैठकमा पूर्वमन्त्री नविन्द्रराज जोशी र पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै सचिवालयले निकालेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न संसदीय समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्दै हुनुहुन्छ ।यसैबीच, प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने सम्भावना बढेको छ ।

बर्खे अधिवेशन अबको एक महिना भित्रै बोलाउनुपर्ने भएकोले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था आएको सांसदहरुले बताएका छन् । सर्वोच्च अदालतको निर्णयबाट ब्यूँतिएको प्रतिनिधि सभाको सातौँ अधिवेशनलाई उत्साह र चासोका साथ हेरिए पनि दलहरूबीच विवाद् र अविश्वासका कारण सदनका काम कारवाही प्रभावकारी बन्न सकिरहेको छैन ।विधेयक अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सदनमा पेश गर्नुपर्ने विधेयकको सूची लामो रहे पनि अहिलेसम्म एउटा पनि विधेयकले प्रवेश पाएको छैन । अहिलेसम्म बसेका ६ वटा बैठक सोक प्रस्ताव पारितमै सिमित भएको छ । नागरिकता, सङ्घीय निजामतीलगायत कतिपय महत्वपूर्ण विधेयक सदनमा अड्किएको लामो समय भए पनि दलहरूको विवादले सदनका बैठकहरू बिजनेस विहीन भइरहेका छन् ।

बर्खे अधिवेशन वैशाख भित्रै बोलाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले पनि यो अधिवेशन अब धेरै लामो जान सक्ने सम्भावना नरहेको नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ । अधिवेशनका लागि विधेयकको लामो सूची भए पनि चालु अधिवेशनमा कुनै विधेयक पेश नभएको र महत्वपूर्ण विषयमा घनिभूत छलफल हुन नसकेको संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

प्रतिनिधिसभाको कानुन तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले अदालतको पुनःस्थापना गर्ने निर्णयपछि स्वभाविकरूपमा प्रतिनिधि सभाको अधिवेशन सुरु भए पनि पहिलो बैठकमै सत्तापक्ष र प्रतिपक्षलगायत दलले संविधानले निर्दिष्ट गरेको अध्यादेश पेश गर्न अवरोध पुर्‍याएकोले समस्या भएको बताउनुभयो ।पुनःस्थापनापछि प्रतिनिधिसभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनःस्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप लाग्दै आएको छ । संसदलाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गर्नुभएको थियो ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६