१८ वैशाख, काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत हो ।
मन्त्रालयको तथ्यांक अनुसार १७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।
बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत हो ।
बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलको ठम्याइ छ । चिकित्सकहरुले बताए अनुसार तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएका छन् । वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने चिकित्सकहरु बताउँछन् ।








प्रतिक्रिया