वैशाख २५, काठमाडौँ —
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्का सदस्यहरुलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई समेत आग्रह गर्नुभएको हो ।
सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावनाविपरीत, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’ त्यस्तै कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने पनि देउवाले स्पष्ट पारेका छन् । कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको कामलाई सुरुदेखि नै अनुचित भन्दै आएको र विरोध गर्दै आएको पनि देउवाले बताउनुभएको छ। ’वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरी पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको छ । नेपाली कांग्रेसले प्रारम्भ देखिनै उक्त कार्यको विरोध गर्दै आएको छ,’ देउवाले विज्ञप्तिमा भन्नुभएको छ ।









प्रतिक्रिया