अर्थ-वाणिज्य

दुई ठूला बैक गाभिएर २७ अर्ब चुक्तापूजीको नेपालकै सर्वाधिक ठूलो बैक स्थापना



काठमाडौँ  ३१ बैशख । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक आपसमा गाभिने भएका छन् । मर्जरका लागि यी बैंकबीच बिहीबार समझदारीपत्रमा (एमओयू) हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार आगामी दुई महिनाभित्र यी बैंकको मर्जर पूरा हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’का नाममा सञ्चालनमा आउनेछ । सो बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो हुनेछ ।मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् । हाल पाँडे नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् भने राणा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नयाँ बैंकको डेपुटी सीईओमा ज्योति पाण्डे रहने सहमति भएको छ । पाण्डे हाल इन्भेस्टमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् ।

यी दुवै बैंक एकै घरपरिवारबाट सञ्चालित छन् । हाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडे र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा साला–भिनाजु हुन् । सोही कारण राष्ट्र बैंकले यी बैंकलाई मर्जरमा जान पटकपटक आग्रह गर्दै आएको थियो । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति ७ सदस्यीय हुनेछ । यसमा हिमालयन र इन्भेस्टमेन्टबाट ३/३ जना र एक जना विज्ञ सदस्य रहनेछन् । यी बैंकको सेयर मिलान अनुपात (स्वाप रेसियो) १ः१ (हिमालयन बैंकको एक सेयर बराबर इन्भेस्टमेन्ट बैंकको एक सेयर) रहनेछ । तर हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले दुवै बैंकले पुनः डीडीए गर्ने र त्यसकै आधारमा स्वाप रेसियो तय हुने प्रतिक्रिया दिए ।

आगामी दुई महिनामा मर्जर प्रक्रिया पूरा गर्ने तयारी भए पनि कोभिडको असर कत्तिको पर्छ त्यसमा भर पर्ने उनले बताए । यो जोडीले मर्जरको सैद्धान्तिक सहमति (एलओआई) का लागि बिहीबार नै राष्ट्र बैंकमा आवेदन दिएको छ । धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय र नेप्सेमा पनि पत्राचार गरिएको बताइएको छ । हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच मर्जरको प्रक्रिया सुरु भए पनि यो जोडीले सँगै अर्को वाणिज्य बैंकलाई पनि समेट्ने तयारी छ ।

मर्जरपछि बन्ने बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६