कपिलवस्तु २७ असार । कपिलवस्तु सदरमुकामा तौलिहवामा स्वास्थ्य मापदण्डको खिल्ली उड्दै गएकोछ । स्थानीय ब्यापारीहरुमा मास्क लगाउने भेटाउनै गाह्रो भएको छ । प्रेसपाटीलाई प्राप्त विवरण अनुसार नगरपालिका–१, चोक बजारका एक फेन्सी पसले मास्क नलगाई ग्राहकसँग कुराकानी गर्दै सामान बेच्दै थिए । ग्राहक पनि बिनामास्क थिए । यस्तै तौलिहवा बजारको गौढी चोकमा तरकारी बेच्न बसेकी महिलाले पनि मास्क लगाएकी थिइनन । उनी बेपरवाह बनेर ग्राहकसँग गफिँदै तरकारी व्यापार गरिरहेकी थिइन ।
अहिले सदरमुकाम तौलिहवा बजारका व्यवसायीहरू असुरक्षित रूपमा व्यापार व्यवसाय गरिरहेका छन्। दोस्रो चरणको कोरोना भाइरस संक्रमण उच्च रहेका बेला गत वैशाख र जेठ महिनामा तौलिहवा अस्पतालमा उपचारका लागि आएका ७९ जना बिरामीको मृत्यु भयो । बजारकै एक चल्तीका ठूला व्यवसायीको कोभिडकै कारण मृत्यु भयो । मृत्युलाई नजिकबाट देख्नेहरू पनि अहिले स्वास्थय सुरक्षा सतर्कता अपनाउने कामलाई ठाडो रुपमा खिल्ली उडाउदै गएका छन् । व्यवसायीले मास्क नलगाउने मात्र होइन, पसलमा सेनिटाइजर पनि राखेका छैनन । असुरक्षित संवाद र पैसा लेनदेन गरिरहेका छन् । काउन्टरमा प्लास्टिकको बार पनि लगाएका छैनन ।
तौलिहवा बजार क्षेत्रमा मेडिकल पसलबाहेक कसैले पनि सुरक्षा सतर्कता अपनाएका छैनन । बजारका फेन्सी, किराना, कपडा, जुत्ता चप्पल, मोबाइल, जनरल स्टोर र मिठाईलगायत पसलमा कोभिडको सतर्कता अपनाइएको छैन । तीन सातायताबाट स्थानीय प्रशासनले बजारका पसल खोल्ने समय बढाउँदै लगेको छ । अहिले अर्को सूचना नआउँदासम्म भनेर गएको मंगलबारबाट साँझ ७ बजेसम्म पसल, व्यापार व्यवसाय खोल्न दिएको छ ।
प्रशासनले निषेधाज्ञा बिस्तारै खुकुलो बनाउँदै लगे पनि व्यवसायीहरूले भने सुरक्षालाई बेवास्ता गरेका छन् । निषेधाज्ञामा मास्क नलगाई बजार हिँडडुल गरेको गुनासो आएपछि प्रहरीले असार पहिलो साता बजार अनुगमन गरेको थियो । १९ जनालाई पक्रेर कारबाही गरेको थियो । पहिलोपटक भएकाले दुई सय रुपैयाँ जरिवाना गरेर छाडेको प्रहरीको भनाइ छ । बजारमा मास्क नलगाई व्यापार व्यवसाय गरिरहेको र ग्राहक पनि बेपरवाह भइरहेको गुनासो आइरहेको प्रमख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले स्वीकार्नु भयो । उहाले फेरी कडा रुपमा उत्रनु पर्ने स्थिती आएको वताउनु भयो ।
प्रतिक्रिया