गुल्मी १० साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । प्रवक्ता ज्ञवालीले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकढिक्का भएर अघि बड्ने बताउनुभयो । उहाँले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउँदै गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गर्नुभयो ।
उहाले नेताहरुको मन दुखे नदुखेको उहाहरुलाई थाहा होला भन्दै जनताको मन दुखेको कुरा भने नभूल्न आग्रह गर्नु भएको छ । कमी कमजोरी दुबै पक्षवाट भएका छन् ती सबैलाई नविर्सी सुख छैन उहाले भन्नु भयो ।प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले अस्वाभाविक रूपमा गठन भएको गठबन्धनबाट सरकार बन्नुमा पनि नेकपाभित्रका केही ठूला नेताको मूख्य भुमिका रहेको बताउनुभयो ।
उहाँले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एकढिक्का भएर अघि बढ्ने दाबीसमेत गर्नुभयो । नेकपा एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको भन्दै नेता ज्ञवालीले अपेक्षित र अप्रत्याशित रूपमा बनेको यो सरकार कुन विधि र प्रक्रियाबाट बन्यो भन्ने मुख्य विषय रहेको टिप्पणी गर्नुभयो ।
खेलको नियममा रेफ्रीले निष्पक्ष रूपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै उहाँले घुमाउरो पारामा अदालतले गरेको फैसलाले आम नागरिकमा थप द्विविधा उत्पन्न गराएको बताउनुभयो ।गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनमा श्रद्धाञ्जली एवम् समवेदना दिन शनिवार गृह जिल्ला गुल्मी आइपुग्नुभएका ज्ञवालीले आइतवार एमाले पार्टी कार्यालयमा पार्टी नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समेत जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया