कपिलवस्तु, १३ भदौ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक ‘कृषि उपज सङ्कलन केन्द्र’ सञ्चालनमा आएको छ । नगरको वडा नं. ६ लक्ष्मणघाटमा रहेको कृषि तथा पशु विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्याधुनिक कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो । कृषि उपज सङ्कलन केन्द्र्रको आइतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन भएको छ । उद्घाटन समारोहमा बोल्दै सांसद पन्थीले कृषि क्षेत्रको विकासबाट नै राष्ट्रको विकास सम्भव हुने बताउनुभयो । सांसद पन्थीले सहकारीले सञ्चालनमा ल्याएको कृषि उपज सङ्कलन केन्द्रले कृषि क्षेत्रको विकासको लागि महत्वपूणर् टेवा दिने विश्वास व्यक्त गर्नुभयो । पन्थीले कृषकहरुलाई व्यवसायिक बनाउदै कृषि उद्यमशीलता तर्फ आकर्षित गर्न सहकारीले भुमिका खेल्नुपर्ने राय व्यक्त गर्नभयो । उहाँले सेवा क्षेत्रलाई नगरभित्र मात्र सिमित नगरी वृहत रुपमा नेटवर्कमा आधारित भएर कषि उपजको बजारीकरण गर्न सुझाव समेत दिनुभयो । सरकारी अनुदान र सहयोगले मात्र संस्था निरन्तर प्रगति पथमा जान नसक्ने जिकीर गर्दै सांसद पन्थीले आफ्नो खुट्टामा उभिन सक्ने गरी केन्द्रलाई अघि बढाउन समेत आग्रह गर्नुभयो ।उद्घाटन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका प्रमुख अमरराज शर्माले सहकारीका सदस्यहरुको उत्साह र सक्रियताको कारण कृषि उपज सङ्कलन केन्द्र निर्माण सम्भव भएको बताउनुभयो । संरचना निर्माण गर्न भन्दा पनि त्यसलाई निरन्तरता दिन अझ चुनौतीपूणर् हुने तर्क गर्दै शर्माले सदस्यहरुलाई अझ सक्रियताको साथ लाग्न आग्रह गर्नुभयो । सहकारीको माध्यमबाट गरिएको बजार व्यवस्थापन प्रभावकारी हुने भन्दै उहाँले आवश्यता अनुसार थप संरचना निर्माणमा सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै वडा नं ६ का वडाध्यक्ष सुकदेव चौधरीले कृषि उपज केन्द्रले कृषकहरुले गरेका कृषिजन्य उत्पादनले बजार पाउने भएकाले कृषकहरुलाई कृषि कार्यमा लाग्न हौसला मिल्ने बताउनु भयो । वडाध्यक्ष चौधरीले वडा कार्यालयसंगको सहकार्यमा सहकारीले कृषि तथा पशु विकासको लागि वडा भित्र महत्वपूणर् कार्य बताउदै आगामी दिनमा पनि वडाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै वडा नं ५ का वडाध्यक्ष भिष्मराज भुसालले कार्यक्रमलाई सम्वोधन गर्दै सहकारीको सफलता भनेकै सदस्यहरुको सफलतासंग जोडिने भएकाले आम कृषकलाई सहकारीमा आवद्ध गराउदै कृषि कार्य तर्फ आकर्षित गरेर जीवनस्तर उकास्न सहकारी लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेसबहादुर केसीले बाणगंगा क्षेत्र कृषि उत्पादनको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले पकेट क्षेत्र बनाएर जान सकिने भएको त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । केसीले कृषि उपज बेच्न भन्दा किन्न खुसी हुने तथा बेच्न लाज मान्ने प्रवृत्ति कृषकहरुमा नै रहेको औल्याउदै अब बेच्न होइन किन्न लाज मान्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताउनुभयो । केसीले नगरपालिकाले कृषि तथा पशु विकासको लागि थुप्रै शीर्षकमा अनुदानका कार्यक्रम ल्याउने हुँदा त्यस किसिमका कार्यक्रमबाट लाभ लिन कृषकहरुलाई अनुरोध पनि गर्नुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष युवराज पोख्रेलले संस्थाले स्थापना कालदेखि नै कृषि तथा पशु विकासको क्षेत्रमा महत्वपूणर् कार्यसम्पादन गर्दै आएकोमा अहिले कृषि उपजको बजारीकरण गर्ने कार्य शुभारम्भ गरेकोमा आफु निकै उत्साहित भएको बताउनुभयो । पोख्रेलले अब बजारीकरणको अभाव नहुने भएकाले कृषकहरुलाई उत्पादन कार्यमा लाग्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष ठाकुर प्रसाद पोख्रेलको अध्यक्षता, उपाध्यक्ष खड्क बहादुर थापाको स्वागत र सदस्य हुमनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।कृषि उपज सङ्कलन केन्द्रको निर्माण कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, खजुरा, बाँकेको १० लाख र कृषि तथा पशु विकास वहुउद्देश्यीय सहकारी संस्थाको ६ लाख ६६ हजार ६ सय ६६ गरी कुल १६ लाख ६६ हजार ६ सय ६६ रुपैया लागतमा सम्पन्न भएको हो ।वि.सं. २०६० सालमा स्थापित सहकारीले यस अघि नै लक्ष्मणघाटमा दुग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको छ जसमा हाल दैनिक ५ सय लिटर बढि दुध सङ्कलन हुने गरेको छ । त्यस्तै सहकारीले मल तथा विउविजन बिक्रिवितरण, गोबर ग्याँस प्लाण्ट निर्माण, गोठसुधार कार्यक्रम, गाई भैसी वितरण, बचत तथा ऋण लगानी जस्ता कार्यक्रम गर्दै आएको छ ।
१३ भाद्र २०७८, आइतबार








प्रतिक्रिया