प्रदेश

लिम्पियाधुरा समेटेर देशको नक्सा जारी गरेपछि आफूविरुद्ध विदेशीसँग साँठगाँठ सुरु गरेको दावी



काठमाडौं  १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ सुरु गरेको दावी गरेका छन् ।

एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो, कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् ।’

अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको उनले बताए । ओलीले कांग्रेसको आलोचना गर्दै सहकर्मी पार्टीलाई छोडेर दक्षिणपन्थी, प्रतिक्रियावादी र भडुवालाई बोक्ने कांग्रेसको पहिलेकै परम्परा भएको बताए । ओलीले अहिले पनि देश भडुवा, देश बिगार्वाहरुलाई कांग्रेसले बोकेकोमा आक्रोश पोखे ।

त्यस्तै उनले निर्वाचन आउन लागेपछि सरकारबाहिर बसेर संगठनको काममा लाग्दा पार्टीलाई फाइदा हुने तर्क पनि गरे । एमाले अहिले भएका पार्टीहरुमध्ये सबैभन्दा योग्य रहेको दावी गर्दै उनले सम्पूर्ण सिट एमालेलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै एमालेमा रहेर एमालेलाई कमजोर बनाउन खोज्नेहरु बाहिरिएपछि पार्टीमा एकता भएको जिकिर गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले देश बिगार्नेहरुलाई नै कांग्रेसले लिएर हिडेको आरोप लगाए । ओलीले महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भएको र महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे ।

त्यस्तै ओलीले आफु प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको प्रचण्डको आरोपको खण्डन गर्दै भान्सामा भाँडाकुँडा पनि आफ्नै लगेको बताए । आफु साधारण तरिकाबाट जिउने व्यक्ति भएकाले आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ । ओलीले मंसिरमा हुने महाधिवेशनले पार्टीलाई थप मजबुद ढंगले अघि बढाउने दावी गरे ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६