काठमाण्डौ, १४ कार्तिक । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आज आइतवार समाजवादी इन्जिनियरिङ एसोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो ।
अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो । उहाँले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गर्नुभयो । उहाँले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारले नागरिकको पसिनाको कदर नगरेको र महत्त्व नबुझेको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा–सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो प्रणाली । अरूले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिनँ, गरेको पनि सहदिनँ, गफ, यस्ता गफाडीहरूको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ, नयाँ सोच, विचारको खाँचो छ, हामी यो देशलाई राम्रो दिशामा लैजान चाहन्छौँ, हाम्रो देश किन्न बन्न सकेन सोच्नुपर्छ । हामीले एजेन्डा बनाएर काम गरौँ, कहाँ हाम्रो समस्या छ ? खोजौँ, काम गरौँ देश बनाऔँ । यस्तो गरिब देश छ नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्नँ ? बालुवाटरमै हेलिप्याड चाहिन्छ ? त्यहाँबाट १० मिनेटमा एअरपोर्ट पुगिन्छ, करोडौँ रुपैयाँ खर्च गर्ने हो ? म त्यसको विरोधी हुँ, जानुपर्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टाढा पनि छैन । जनताको पसिना बगाएको पैसा कसरी सदुपयोग गर्ने भनेर चिन्ता चासो छैन, देश बनाउन मन पोल्नुपर्यो ।’
अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो विरोध रहेको बताउनुभयो । उहाँले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटो भन्दा छिटो फास्ट ट्र्याकको काम सक्ने रहेको बताउनुभयो ।








प्रतिक्रिया