काठमाण्डौ, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताउनु भएको छ । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि पार्टीले मार्केटिङ गर्न नजानेको बताउनु भएको हो ।
दाहाल भन्नुहुन्छ हामी नयाँ सङ्कल्पसहित फेरि अघि बढ्नुपर्छ । हामीले राम्रा राम्रा काम गर्यौँ, सामान बनायौँ तर बिक्री गर्न जानिराखेका छैनौँ । मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको रहेनछ । यी सबै जनताको बीचमा स्थापित गर्न जरुरी छ । आत्मालोचनासहित जनताको घरमा जाने काम गर्यौँ भने केही महिनाभित्र माथि आउन सक्ने सम्भावना छ ।’
दाहालले पार्टीमा शिथिलता देखिएकाले आफ्ना मुद्दाहरुप्रति विश्वास कायम गर्दै नयाँ सङ्कल्पका साथ अगाडि बढ्नु पर्ने बताउनु भएको छ। उहाँ भन्नुहुन्छ ‘पछिल्लो चरणमा अन्योल, शिथिलता जस्तो, कहीँ न कहीँ आफ्नै मुद्दाहरुप्रति हाम्रो विश्वास डगमगाएको जस्तो देखिएको छ । आन्दोलन र परिवर्तनप्रतिको हाम्रो स्वामित्व, अपनत्व उत्साहकासाथ ग्रहण गरी जनतामाझ स्थापित गरिराख्नु पर्ने हो । तर जोस, उत्साह अहिले कमी आएको हो कि जस्तो देखिएको छ ।
उहाँले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको छ। उहाँले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाउनुभएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘ओलीले सधैँ मलाई भन्नुहुन्छ यो सङ्घीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन । मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन । अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन । बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।’
उहाँले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाउनुभयो ।








प्रतिक्रिया