काठमाण्डौ, २५ कार्तिक । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदर्शन गरेको छ । आज बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन मागसमेत गरेको छ । विरोध कार्यक्रममा अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्य वृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले १२ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
विरोध कार्यक्रममा सरकारविरुद्ध नाराबाजी लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला पनि जलाइएको थियो । नेपाल आयल निगमले हिजो बुधवार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल, मट्टीतेलमा तीन,तीन रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।








प्रतिक्रिया