अर्थ-वाणिज्य

गृहजिल्लामा सभापति देउवाबिरुद्ध आन्दोलनको घोषणा



काठमाडौं २७ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता विवाद केन्द्रमा आइपुगेको छ । केन्द्र आइपुगेसँगै सभापति देउवाबिरुद्ध आन्दोलनको घोषणासमेत भएको छ ।पार्टीको विधान र जिल्ला कार्यसमितिको निर्णयविपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरुले मंसिर १ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निरन्तर धर्ना दिने भएका हुन ।डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लले सानेपामा पत्रकार सम्मेलन गर्दै विधानविपरीत बाँडिएको क्रियाशील सदस्यता सच्याएर पुनः अधिवेशन नगरिए आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिनुभएको छ ।

‘शेरबहादुर देउवालाई डडेल्धुराबाट ६ पटक सांसद जिताएर ५ पटक प्रधानमन्त्री र कांग्रेसको सभापति बनायौं । तर उहाँकै नेतृत्वमा कांग्रेसका इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भएको छ । हाम्रो माग सम्बोधन नगरिए जस्तोसुकै आन्दोलनका लागि तयार छौं’, मल्लले भन्नुभयो। मल्लले डडेल्धुराका ५२ वटा वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर गरिएको आरोप लगाउनु भयो ।

‘क्रियाशील सदस्यता विधिवत रुपमा तल्लो तह वडा, पालिका, प्रदश हुँदै जिल्ला कार्य समितिबाट निर्णयसहित सिफारिस भएका ४ सय ६० सदस्यता खारेज गरिनु र कुनैपनि तहबाट सिफारिस नै नभइ स्वतः ३ सय २१ क्रियाशील सदस्यता थपिनुका साथै यस्ता थुप्रै खालका गम्भीर कमजोरी रहेका छन्’, मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला समितिसँगको सहमतिविपरीत वडा अधिवेशन सम्पन्न भएको घोषणा गरेको भन्दै मल्लले ‘कथित’ वडा अधिवेशन मान्य नहुने बताउनु भयो । उनले डडेल्धुराका ३ हजार बढी क्रियाशील कांग्रेस कार्यकर्ताहरु मंसिर १ देखिको आन्दोलनमा सहभागी हुने जानकारी दिनुभयो ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६