अर्थ-वाणिज्य

सडक विस्तारको काम अलपत्र पारेको भन्दै महानिर्देशकको तस्बिर सहितको ब्यानर टाँसेर विरोध



दोलखा २७ कार्तिक  ।    दोलखा — सडक विस्तारको काम अलपत्र पारेको भन्दै दोलखाका स्थानीय अगुवा तथा यात्रुहरूले मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीसाधनमा टाँसेर विरोध गरेका छन् ।

दोलखालाई राजधानीसँग जोड्ने मुख्य लामोसाँघु-जिरी सडक अन्तर्गत मुडे-चरीकोट खण्ड विस्तारको काम ६ वर्षदेखि अलपत्र पारेको भन्दै फोटोसहितको ब्यानर सार्वजनिक यातायातमा टाँसेर विरोध गरिएको हो ।

सडक विस्तारका लागि दबाब दिन सार्वजनिक यातायातमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटोसहितको ब्यानर दोलखा-काठमाडौं आउजाउ गर्ने सार्वजनिक यातायातमा टाँस्ने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए ।

‘सरकार….मुडे चरिकोट सडक कहिले बनाउँछस् ? हाम्रो बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस् ?’ लगायतका प्रश्न सोधिएका नारा ती ब्यानरमा लेखिएका छन् । ६ वर्षदेखि बिग्रिएको सडकका कारण नागरिकले दुःख पाएको भन्दै सांकेतिक रुपमा विरोध गरिएको मास्केले बताएका छन्।

‘संघीय राजधानीमा जिम्मेवारी सम्हालेर बसेकाहरूको आँखा र कान खुलोस् भनेर झक्झक्याउन आन्दोलन थालेका हौं,’ मास्केले भने, ‘हाम्रो मागको सुनुवाइ नभए सरकारी सवारीसाधन गुड्न नदिएर अवरोध गर्छौं ।

सडक विस्तार नभइन्जेल चरणवद्ध आन्दोलन गर्ने उनको चेतावनी छ। २ वर्षमा काम सक्नेगरी जिम्मा लिएको भारतीय निर्माण कम्पनी सकिल हैदर-शंकरमाली-सुनौलो खिम्ती जेभीले सडक विस्तारको काम अलपत्र पारेको भन्दै पछिल्लो समय स्थानीयहरू आन्दोलित बनेका हुन् ।

सडक विस्तारको काम अलपत्र पारेर निर्माण कम्पनी नै पटकपटक बेपत्ता भएपछि सडक थप बिग्रँदैगएको उनीहरूको गुनासो छ । निर्माण नै सम्पन्न नगरी छोडिदिँदा घाम लाग्दा सडकमा धुलो र पानी पर्दा हिलाम्मे हुनेगरेको जिल्लावासीहरू बताउँछन् । ठगी गर्ने कम्पनीलाई कारबाही गर्न नसकेको र सडक पनि सुधार गर्न नसकेको भन्दै यस क्षेत्रका यात्रुहरू सम्बन्धित मन्त्री तथा उच्च पदस्थ कर्मचारीविरुद्ध पनि आक्रोशित बन्ने गरेका छन् ।

यस्तै लामोसाँघु जिरी सडक अन्तर्गत दोस्रो खण्डको मुडेदेखि चरीकोटसम्म ३० किलोमिटर सडक २०७२ सालबाट विस्तारको काम सुरु भए पनि काम बीचमै रोकेर कम्पनी बेपत्ता भइदिँदा यात्रुहरूले सास्ती झेल्दै छन् ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६