गण्डकी २८ कार्तिक । गण्डकी प्रदेशमा पछिल्लो समय घरजग्गा कारोबार वृद्धि हुँदै गएको एक अध्ययन देखाएको छ । कोरोना संक्रमणको महामारीले देशभर लकडाउन भएका बेला समेत यस प्रदेशमा घरजग्गा रजिस्ट्रेसनमा उल्लेख्य वृद्धि देखिएको छ ।
नेपाल राष्ट्रबैंकको अध्ययन अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशका महानगरपालिका तथा नगरपालिकाबाट स्वीकृत घर/जग्गा रजिस्ट्रेसन संख्या ३७.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यस प्रदेशमा ३७ हजार ४७ वटा घरजग्गा रजिस्ट्रेसन भएको तथ्यांकमा उल्लेख छ । घरजग्गा कारोबारमा वृद्धि भएसँगै सरकारी राजस्व आम्दानी पनि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत वर्षा गण्डकी प्रदेशमा घरजग्गा रजिस्ट्रेसनबापत ३ अर्ब ६१ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १८ प्रतिशतले बढी भएको राष्ट्रबैंकको अध्ययनले देखाएको छ ।
गण्डकी प्रदेशमा घर भवन निर्माणले पनि गति लिएको देखिएको छ । गत आर्थिक वर्षमा प्रदेशका महानगरपालिका तथा नगरपालिकामा घर तथा भवनका ३ हजार ६५४ वटा नक्सा पाए भएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको अधिकांश समय देशैभरि लकडाउन भए पनि घरजग्गा कारोबार तथा नयाँ घर निर्माणले गति लिएको राष्ट्रबैंको तथ्यांकले देखाएको छ ।








प्रतिक्रिया