कार्तिक २९ । शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्।
कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ। गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। रात्रिमा ‘गोविन्द उठ्नूस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ। यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ।








प्रतिक्रिया