काठमाडौं, ३० कात्तिक । पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बसेको समितिको बैठकले राज्यको महत्वपूर्ण अङ्गको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित सबैलाई छिटो निकास दिने दिशामा पहल गर्न आग्रह गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामा न्यायिक विचलन देखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशका साथै बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको बेला समितिले पनि यथाशीघ्र निकासमा जोड दिएको हो।यस्तै बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुरको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षमा बैठक बसेको जानकारी दिए ।
बैठकमा देउवा र पौडेलसहित नेताहरु प्रचण्ड, माधव कुमार नेपाल, कृष्ण प्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, ज्ञानेन्द्र बहादुर कार्की, अशोक राई, चित्रबहादुर केसी, दुर्गा पौडेल र वेदुराम भुसालको सहभागिता रहेको थियो
प्रतिक्रिया