बुटवल १ मंसिर । लुम्बिनी प्रदेशसभामा निवर्तमान र वर्तमान मुख्यमन्त्रीले एकदिनको अन्तरमा सवालजवाफ गरेका छन् एकदिनको अन्तरमा। तर एकले अर्कोलाई प्रश्न गर्दा सु्न्ने चाँही अलग्गै सांसदहरु थिए। लुम्बिनी प्रदेश सभाका दुई सांसदलाई पदमुक्त गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरु गरेको अवरोध तीन महिना पुग्न थाल्यो।
नवलपरासीबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित प्रदेशसभा सदस्यहरु अजय शाही र दाङबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले भदौ १ गतेबाट संसद अवरोध गर्दै आएको छ। शाही र वलीका विषयको मुद्दा अदालतमा रहेकोले उक्त मुद्दाको निरुपण नभएसम्म सरकारको वैधानिकतामा प्रश्न उठाउँदै आएको एमालेले संसद अवरोध गर्दै आएको छ।
नवौं अधिवेशन अन्तर्गत सोमबारको बैठकपनि एमालेको अवरोधका कारण आधाघण्टा स्थगित गरी पुनः बसेको थियो। पहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गरेलगत्तै आआफ्नो कुर्चिबाट उभिएर बैठक चल्न नदिएका प्रतिपक्षी दलका सांसदहरु दोश्रो बैठक भने बहिस्कार गरे। प्रतिपक्षी दलका कुनैपनि सांसद दोश्रो बैठकमा उपस्थित नभएपनि सभामुख घर्तीले भने बैठकलाई अगाडि बढाएका थिए।
सोमबारको दोश्रो बैठकबाट मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार एमाले संसदीय दलका नेता शंकर पोखरेलले आइतबार सोही सदनमा राखेका प्रश्नको जवाफ दिएका थिए। उनले अदालतमा विचाराधीन रहेको विषयलाई बारम्बार प्रदेशसभामा उठाएर मजाक नगर्न प्रतिपक्षी दललाई चेतावनी दिएका थिए।
एमालेलाई मुख्यमन्त्री केसीले अर्को दलको सदस्य बनिसकेका सांसदहरुलाई जबरजस्ती आफ्नो भन्दै कारवाही गर्न खोज्नु अलोकतान्त्रिक कार्य भएको उल्लेख गर्दै प्रदेशसभामा लोकतान्त्रिक आचरण प्रस्तुत गर्न बारम्बार आग्रह गरेका थिए। मुख्यमन्त्री केसीले सभामुखलाई र प्रदेशसभालाई अनावश्यक लाञ्छना लगाउने काम बन्द गर्न प्रतिपक्ष दलका सांसदलाई प्रदेशसभाबाट आग्रह गरिरहंदा प्रतिपक्षी बस्ने सबै कुर्चिहरु भने सबै खाली थिए।
सोमबारको दोस्रो बैठक एमालेले बहिस्कार गरेपनि प्रदेशसभाले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। वन तथा वातावरणमन्त्री सुरेन्द्र हमालले बैठकमा प्रस्तुत गरेको वन सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। प्रदेशसभाको आगामी बैठक अर्को सूचना जारी भएपछि मात्रै बस्ने जनाइएको छ।
तीन महिनापछि एमालेका प्रमुख नेताको सम्बोधन
तीन महिनादेखि लुम्बिनी प्रदेशसभा अवरुद्ध गर्दै आएको नेकपा एमालेका संसदीय दलका प्रमुख तथा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सदनमै गएर आफ्नो असहमति राखेका थिए। संवैधानिक र कानुनी प्रश्नको निरुपण नहँदासम्म प्रतिपक्ष दल एमाले सभामा उपस्थित नहुने जानकारी दिन उनी मुख्यमन्त्री गुमाएपछि पहिलोपटक संसद पुगेका थिए।








प्रतिक्रिया