जीवनशैली

कांग्रेसको आगामी नेतृत्व चयनका लागि जिल्लामा दुई समूहबीच प्रतिस्पर्धा



ओखलढुंगा १ मङ्सिर  । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि जिल्लामा दुई समूहबीच प्रतिस्पर्धा छ । ६ मंसिरदेखि सुरु हुने अधिवेशनमा बालकृष्ण दाहाल र तेजन खनाल (तेजेन्द्र) नेतृत्वको समूह चुनावी मैदानमा छ । 

हाल जिल्लाका उपसभापति रहेका खनाल देउवा पक्षीय हुन् भने दाहाल कोइराला-पौडेल पक्षका नेता हुन् । दाहाल तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव र शहीद लीलानाथ दाहालका सुपुत्र हुन् । दुवै समूहबीच कडा प्रतिस्पर्धा छ । एक हजार ४४३ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयन गर्नेछन् । 

दुवै समूहमा युवा तथा विद्यार्थीको पदाधिकारीमा उम्मेदवारी छ । विगतमा पुराना पुस्ताका नेताहरू हावी हुने गरेकामा यो अधिवेशनमा युवाहरूको निर्णायक उपस्थित देखिएको छ । प्रतिनिधिदेखि पदाधिकारी तथा जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गर्न होडबाजी नै चलेको छ । मतदाता प्रभावित पार्नदेखि जातिगत र क्षेत्रीय सन्तुलन कायम गर्न पनि दुवै समूहले युवालाई पदाधिकारीमा उम्मेदवार बनाएको छ । 

कोको छन् उम्मेदवार ? 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य तथा प्रवक्ता राजकुमार ढुंगाना कांग्रेसको १४औँ महाधिवेशनमा सचिव पदका उम्मेदवार हुन् । उनी तेह्रौँ महाधिवेशनमा सदस्य निर्वाचित भए । त्यसअघि उनी नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा थिए । 

आम निर्वाचनमा पार्टीले बेहोरेको पराजय र गिरेको शाख उठाउन नेतृत्वमा युवाहरूको हस्तक्षेप जरुरी भएको उनको तर्क छ । ‘हामी यही मान्यता स्थापित गर्न नेतृत्वमा युवाहरूको विजयका लागि चुनावी मैदानमा छौँ’, उनले भने । उनी तेजन खनाल समूहबाट सचिवका उम्मेदवार छन् ।

नेविसंघका पूर्वउपाध्यक्ष नविन राई महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । त्यस्तै, प्रवीन राई तरुण दलका जिल्ला अध्यक्ष हुन् । उनी पनि चुनावी मैदानमा छन् । दुवै दाहाल समूहका उम्मेदवार हुन् । 

तरुण दलका पूर्वउपाध्यक्ष टेकबहादुर खड्का र नेविसंघका नेता उज्जन बुढाथोकीलाई सो समूहले सहसचिवको उम्मेदवार बनाएको छ । युवाहरू नेतृत्वमा नआईकन संगठन गतिशील नहुने विगतका उदाहरणले प्रस्ट भएको सहसचिवका उम्मेदवार टेकबहादुर खड्का बताउँछन् । 

नेविसंघका जिल्ला अध्यक्ष रोशन महतरा प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । त्यस्तै, विद्यार्थी नेता गोविन्द कोइराला, विन्दा बोगटी पनि प्रदेश प्रतिनिधिका उम्मेदवार बनेका छन् । 

संघीय महाधिवेशन प्रतिनिधि उम्मेदवार अर्चना लुइँटेल युवाहरूको नेतृत्वबाटै कांग्रेसमा पुनर्जागरण आउने बताउँछिन् । पुराना पुस्तालाई सम्मान गर्दै युवाहरूले नेतृत्व लिनुपर्ने उनको तर्क छ । सामाजिक क्षेत्रमा क्रियाशील सुनिता अधिकारी र मैया राई महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । युवा पुस्ताका महिलाहरूको राजनीतिमा कमजोर उपस्थितिले महिला आन्दोलन पछि परेको उनीहरूको ठहर छ । 

मानेभञ्ज्याङ गाउँपालिकाका उपप्रमुख सविता राई, वडा अध्यक्षहरू रामकुमार राई, भीम बलाम्पाखी मगर, वडा सदस्य कल्याण राईसहित युवा पुस्ताका नेताहरू पनि चुनावी मैदानमा छन् । 

यी त केही उदाहरण मात्र हुन् । यस पटकको अधिवेशनमा प्रदेश, संघीय महाधिवेशन प्रतिनिधिदेखि जिल्लाका पदाधिकारी र जिल्ला सदस्यमा युवा तथा विद्यार्थीहरूको होडबाजी नै छ । पदाधिकारीबाहेक २७ जिल्ला सदस्य पदका लागि उम्मेदवार घोषणा गरेका अधिकांश युवा, विद्यार्थीहरू नै छन् ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६