डोटी २ मंसिर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारको दर्शन गर्न पुगेका छन् । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित हेलिकप्टरमार्फत डोटी आएका पूर्वप्रधानमन्त्री नेपालले बडीकेदार जानुअघि डोटी जिल्ला सदरमुकामको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन गरेका छन् ।
आफू प्रधानमन्त्री हुँदा सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक संग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याए पनि सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको नेता नेपालले गुनासो गरे ।
उनले भारतको दार्जिलिङमा भारतका विभिन्न चारवटा धामहरुको झल्को दिने गरी धार्मिक संग्रहालय स्थापना गरिएको बताउँदै नेपालमा पनि प्रमुख धार्मिक स्थलहरु र धामहरुको एउटै संग्रहालयबाट दर्शन गर्न सकिने व्यवस्था गरिए देश बाहिरबाट समेत धार्मिक पर्यटक भित्र्याउन सकिने बताए । उनले धार्मिक संग्रहालयले लाखौं हिन्दु धर्मालम्बीहरुलाई आकर्षित गर्ने दावी गरे ।
नेता नेपालले सङ्गठन विस्तारमा व्यस्त हुँदा पनि समय मिलाएर शैलेश्वरी मन्दिरसहित बडिकेदार दर्शनका लागि डोटी आएको बताए ।
नेपालसंगै गृह जिल्ला आएका मन्त्री आलेले बडीकेदार गाउँपालिकामा रहेको बडीकेदार मेलाको पुँजामा सहभागी हुने बताए । पूर्वप्रधानमन्त्री नेपालको टोलीलाई दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्थानीय टुँडिखेलमा फूलमालाले स्वागत गरेका थिए ।
पूर्वप्रधानमन्त्री नेपालको टोलीले बुधबारै दिपायल शिलगढी नगरपालिका-७, पाकरीमा रहेको दुर्गादेवी मन्दिरको दर्शन गरी बडीकेदार प्रस्थान गरेका हुन् ।








प्रतिक्रिया