काठमाडौंको १ मंसिर । कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।
बुधबार कागेश्वरी मनोहरा-९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।
बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्। सुरूको ४ घण्टा तीव्र गतिमा सुख्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ।
ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरमा पुगेपछि स्थानीय त्रसित बनेका छन्। यसबारे सुरक्षाकर्मीलाई तत्काल खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म पहल नभएको स्थानीयले बताएका छन्। भू-गर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिक्रिया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझ निस्किन थालेको हिलो र ढुंगा नजिकका घरमा झरेर फोहोर पारेको छ।








प्रतिक्रिया