अर्थ-वाणिज्य

सुबास ,ईश्वर बादल र रावलको स्थान के हो ?



काठमाडौं २ मंसिर । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली दोहोरिएर अध्यक्ष बन्ने छन् भन्ने सामान्य भइसकेको छ। अध्यक्षमा ओलीको सम्भावना शतप्रतिशत रहे पनि अन्य पदमा को रहने भन्नेमा नेताहरूले उनकै प्रस्ताव कुरेर बसेका छन्।

अध्यक्षपछिको वरिष्ठ उपाध्यक्षमा धेरैले वर्तमान महासचिव ईश्वर पोखरेललाई हेरेका छन्। पोखरेल स्वयंले पनि आफू वरिष्ठ उपाध्यक्षको स्वाभाविक दाबेदार रहेको सेतोपाटीसँगको कुराकानीमा बताएका छन्।

पोखरेलसँगै एमाले वृत्तमा सुवास नेम्वाङको समेत चर्चा सुरू भएको छ। नेम्वाङ अहिले स्थायी कमिटी सदस्य हुन् भने संसदीय दलका उपनेतासमेत हुन्। यसअघि चारपटक सभामुख र दुईपटक संविधानसभा अध्यक्ष भइसकेका नेम्वाङ आठौं र नवौं महाधिवेशनमा सहभागी भएका थिएनन्। यी दुवै महाधिवेशन बेला उनी संविधानसभा अध्यक्ष तथा सभामुख थिए।

यसपटक उनी उपाध्यक्ष दाबेदार हुन् भन्ने सार्वजनिक नै छ। तर वरिष्ठ उपाध्यक्षबारे उनले मुख खोलेका छैनन्। आफ्नो दाबी कुन पदमा रहन्छ भनेर पनि उनले अहिलेसम्म केही बोलेका छैनन्। त्यसो त एमालेका कुनै पनि नेताले मेरो यो पदमा दाबी छ भनेर स्पष्टसँग भनेका छैनन्। अर्थात् उनीहरू सबैले ओलीको प्रस्ताव कुरेका छन्।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङको दाबी स्वाभाविक रहेको उनीनिकट एक नेताले बताए।‘उहाँले अहिलेसम्म हामीलाई पनि केही भन्नुभएको छैन। तर महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ भन्ने लागेको छ,’ ती नेताले भने, ‘पार्टी अध्यक्षलाई हरतरहले सहयोग गर्ने र सजिलोसमेत भएकाले नेम्वाङ वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ।’

नेम्वाङलाई वरिष्ठ उपध्यक्ष बनाए अहिलेका महासचिव ईश्वर पोखरेल के गर्छन् भन्ने प्रश्नमा ती नेताले भने, ‘उहाँको सम्मानजनक व्यवस्थापन गर्ने ठाउँ छ। विधान संशोधन गरेर पदाधिकारी बढाउँदा वरिष्ठ नेतामा उहाँलाई लान सकिने ठाउँ रहन्छ।’

नेम्वाङनिकट ती नेताको दाबीअनुसार पदाधिकारी संख्या बढाउनुपर्छ। पदाधिकारी संख्या बढाए सहमति सजिलोसँग हुने उनको भनाइ छ।आफूपछिको पद भएकाले ओलीले आफूसँग निकट व्यक्तिलाई नै वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन्। एमालेभित्र ओलीको विरोध गर्न साहस राख्ने नेता छैनन्। ओलीको आलोचना अहिले उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले मात्रै गर्ने गरेका छन्।

ओलीले वरिष्ठ उपाध्यक्ष र महासचिवमा भने आफ्नो अत्यन्तै विश्वासपात्रलाई ल्याउन चाहेका छन्। वर्तमान महासचिव पोखरेल ओलीनिकट भए पनि उनी विश्वासपात्र होइनन्। पोखरललाई ओलीले धेरै टाढा र धेरै नजिक दुवै चाहेका छैनन्।यसको सन्देश उनले धेरैपटक दिइसकेका छन्।

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहने समूहले विष्णु पौडेललाई महासचिव बनाउन चाहेको छ। त्यो समूहले शंकर पोखरेललाई उपमहासचिव बनाउन चाहेको छ। स्रोतका अनुसार नेम्वाङ स्वयं पनि पौडेलकै पक्षमा छन्।महासचिवमा पोखरेलको पनि दाबी छ। पौडेल र पोखरेललाई ओलीले कसरी व्यवस्थापन गर्छन् भन्ने धेरैको चासो छ।

पार्टीको ठूलो समूह पौडेलको पक्षमा देखिन्छ भने ओलीलाई लामो समयदेखि साथ दिएको समूह पोखरेलको पक्षमा छ। स्रोतका अनुसार ईश्वर पोखरेल शंकर पोखरेललाई महासचिव बनाउन चाहन्छन्।जसले जे चाहेको भए पनि सबैले ओलीलाई नै हेरेको एमालेका एक नेताले बताए।

‘जसको जे दाबी भएको भए पनि त्यो ओलीसँगै भन्ने हुन्। कसैले पनि बाहिर भन्ने साहस गर्दैनन्,’ ती नेताले भने, ‘ओलीलाई विधान संशोधन गर्न मन लाग्यो भने संशोधन हुन्छ, नत्र हुँदैन। विधान संशोधन नगरी उनले ल्याएको प्रस्ताव स्विकार्य भएन भने पनि विरोध गर्नेले हार्छ भन्ने सबैले बुझेका छन्।’

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६