हेटौँडा २ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेबाट अलग भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि नजित्ने बताएका छन्।
मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथ ग्रहण कार्यक्रममा भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताएका हुन्।
उनले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको दाबी गरे। अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिँडेको बताउँदै उनले नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए।
उनले भने ‘अहिले प्रचण्ड र नेपालहरु कांग्रेसँग तालमेल गर्छौ भन्ने हिँडिरहेका छन। तर कांग्रेसले त्यो काम गर्दैन। कांग्रेसले कतिजनालाई सिट बाढ्दै हिँडोस् र ? ’
माओवादी र समाजवादीको जग नभएको कांग्रेसलाई थाहा भएको भन्दै उनले जग नभएको घर कतिबेला ढल्छ थाहै नहुने बताए।
आफुहरुले माधव नेपाललाई पटकपटक पार्टी विभाजन गर्ने अपराध नगर्न सुझाव दिएको भन्दै उनले माधव नेपालले अपराध गरेकोले आफूहरुले पार्टी विभाजनकारीलाई साथ दिन नसकेको बताए।
नेकपा एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर हजारौं नागरिकको हत्या हुनबाट जोगाएको उल्लेख गर्दै उनले नेपालमा एउटा मात्र कम्युनिष्ट शक्ति रहने र त्यो एमाले भएको उल्लेख गरे।
मंसिर १० गतेबाट चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनबाट पनि सर्वसम्वत नेतृत्व चयन हुनेमा आफुहरु विश्वस्त रहेको भन्दै भट्टराईले भने ‘देशको सबै जिल्ला र संघ संगठनबाट सर्वसम्वत प्रतिनिधि चयन भएका छन। त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्वत चयन गर्न दबाब छ। हाम्रो अध्यक्ष कमरेड पनि सोहि कुरामा चिन्तित हुनुहुन्छ।’








प्रतिक्रिया