काठमाण्डौ, १८ मंसिर । ललितपुरको मंगलबजारमा रहेको ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।
भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो ।
‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनु भयो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ । अहिले मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । समितिका अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताउनु भयो ।
कार्यक्रममा सहभागी हुनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिनु भयो । उहाँले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
प्रतिक्रिया