प्रदेश

कांग्रेस बैठकः तीन प्रतिवेदन पारित, ‘पार्टीसँग १० करोड रुपैयाँभन्दा धेरै मौज्दात’



काठमाण्डौ, २३ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

आज बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले साङ्गठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरू सम्बन्धी तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यो प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित प्रस्ताव केन्द्रीय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकमा कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेस भएको थियो । यो प्रतिवेदन पनि बैठकले सर्वसम्मतिले पारित गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पार्टीसँग १० करोड रुपैयाँभन्दा माथि मौज्दात रकम रहेको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको पनि बताउनुभयो । त्यस्तै बैठकले पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजक रहनुभएको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन पेस गरेको र त्यो प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने बताउनुभयो । त्यस्तै बैठकमा पेस भएको अनुमोदनसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पास भएको र बन्द सत्रमा जान मार्ग प्रशस्त भएको बताउनुभयो ।

प्रवक्ता शर्माले बैठकमा पार्टीका नेताहरुले महाधिवेशनलाई अझै व्यवस्थित बनाउन र प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेको पनि बताउनुभयो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६