प्रदेश

आलोचकलाई समेत फकाउन सिपालु देउवाको यस्तो छ राजनीतिक जीवन



काठमाण्डौ, २९ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम् प्रतिद्वन्द्वी डा। शेखर कोइरालालाई पराजित गर्नुभएको हो । पुनः मतदानमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी हुनुभएको हो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा आउनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ अहिले बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

वि।स। २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनु भएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाण्डौमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुनुहुन्छ । वि।स। २०४८, २०५१, २०५६ र २०७४ का संसदीय चुनावमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको चुनावमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।

वि।स। २०४८ सालमा गृहमन्त्री बन्नुभएका देउवाले अहिलेसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । पहिलोपटक २०५२ साल भदौ २६ गतेदेखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साल साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री हुनु भएको थियो । त्यहि वर्ष असोज १८ गते उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उहाँलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस ९कदमजम० को अवधारणा ल्याएर जनताको विश्वास जित्नुभएको थियो । उहाँकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस ९प्रजातान्त्रिक० का उहाँ सभापति बन्नुभयो । पछि २०६४ सालमा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो । त्यसपछि २०७२ साल फागुन २४ गते सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको थियो ।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउनुभएको थियो ।

२०५२ सालमा नेकपा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उहाँ पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभयो । २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला डा. बाबुराम भट्टराईलगायतले ४० बुँदे मागपत्र बुझाउनु भएको थियो ।

त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो । पछि माओवादीसँग वार्ताका लागि सरकारको तर्फबाट पत्र लेख्ने व्यक्ति पनि देउवा नै हुनुहुन्छ । १४औँ महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय स्मरण गराउनुभएको थियो ।

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक देशको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उहाँलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि त्यो संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ ।

नेपाली काँग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सिपालु व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।
रासस

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६