काठमाडौं ११ माघ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका छन् ।
यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ७-७० प्रतिशतले बढी हो । यद्यपि, यसमा हिमालयन बैंकको भने जोडिएको छैन ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयनले वित्तीय विवरण सार्वजनिक गरेको छैन । अघिल्लो वर्षको ६ महिनामा भने यो बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।
चालु आर्थ्र्िक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा देखिएको छ । अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।
मूनाफा धेरै कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ । व्यवसाय विस्तारमा निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेको यस बैंकले नबिल र राष्ट्रिय वाणिज्य बैंकलाई समेत उछिनेको छ । गत वर्षको ६ महिनामा २ अर्ब ६ करोड रुपैयाँमात्रै कमाएको एन्आईशी एसिया बैंकले यस वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यसैगरी नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नबिलले २ अर्ब १ करोड रुपैयाँ र रावा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
धेरै नाफा कमाउने पाँचौ नम्बरमा भने एनएमबि बैंक देखिएको छ । एनएमबि बैंकले अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ कमाएकोमा यस वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया