खोज–अनुसन्धान

घोडाहा जंगलमा भेटिएको महिला र बालिकाको हत्याको अझै खुलेन पहिचान



बुटवल : रूपन्देहीको देवदह नगरपालिका-९ घोडाहा जंगलमा गत मंगलवार हत्या गरेर फालिएको अवस्था फेला परेका महिला र बालिकाको अझै पहिचान हुन सकेको छैन।उनीहरूको सनाखतका लागि रूपन्देही प्रहरीले सबैतिर पत्राचार र सूचना जारी गरेपनि अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीले जानकारी दिए।महेन्द्र राजमार्गबाट २५ मिटर दक्षिणतर्फ बेवारिसे अबस्थामा भेटिएका दुवै शव पोस्टमार्टम गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

‘अधबैँशे महिला र बालिकाको शवको पहिचानका लागि उनीहरूको हुलिया सातै प्रदेशदेखि भारतसम्म पठाइसकेका छौँ। आफन्तको खोजीको लागि सबै क्षेत्रमा उनीहरूका तस्बिरसहित सूचना र पत्राचार गरिएपनि अहिलेसम्म कतैबाट खबर आएको छैन,’ एसपी केसीले भने।बेवारिसे शवको सनाखन नहुँदा अनुसन्धानको काम पनि अगाडि बढ्न सकेको छैन।‘घटनाको वस्तुस्थिति हेर्दा अन्यत्र कतै हत्या गरी त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ,’ उनले भने।

घोडाहा जंगलमा गत मंगलवार दिउँसो अन्दाजी ३०/३५ वर्षकी महिला र ६/७ वर्षकी बालिकाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्था शव फेला परेको थियो।‘महिलाले रातो ब्लाउज, रातो ज्याकेट लगाएकी छन्। त्यस्तै, बालिकाले निलो पाइन्ट, गुलाबी रंगको लेडिज सेन्डल र पहेलो छिर्केमिर्के सट लगाएको देखिन्छ। उनीहरु दुवै जनाको शव हेर्दा तराई मूलको जस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले भने।शव भेटिएको स्थानमा अन्य कुनै सामानहरु/कागजपत्र नहुँदा प्रहरीलाई शवको पहिचान गर्न समस्या भएको छ। हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको छ।

तिनाउ नदीमा महिलाको शव फेला

यसैबीच, पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित विद्युत गृहको ड्याम नजिक तिनाउ नदीमा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले बुधवार साँझ ड्याम नजिकै अन्दाजी ६०/६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जानकारी दिए।अहिलेसम्म शवको पहिचान खुलेको छैन। स्थानीयले नदीमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई जिल्ला अस्पताल पाल्पामा राखिएको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६