बाँके, १८ फागुन । बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको हो ।
वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘‘गत नौ गतेदेखि वनमा डार्ट राखेका थियौँँ । त्यसयता बाघको निगरानी गरिरहेका थियौँ । गएराति डार्ट लाग्यो । त्यसपछि बिहान साढे ९ बजे खोरमा हालेर नियन्त्रणमा लियौँ,” उनले भने ।
सोही नरभक्षी बाघको आक्रमणबाट पाँच जना मानिसको मृत्यु भएको खड्काले जानकारी दिए ।
‘‘हालै बाघको आक्रमणबाट पाँचजनाको मृत्यु भयो । दुई जनालाई घाइते बनायो । घाइतेको अहिले पनि उपचार भइरहेको छ । पहिलेदेखि हामीले बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गरेका थियौँ । त्यतिबेला सम्भव भएन,” उनले भने ।
अहिले विभिन्न निकायको सहयोग र समन्वयमा बाघलाई नियन्त्रणमा लिन सकिएको उनको भनाइ छ । खड्काका अनुसार पछिल्लो समय बाघले स्थानीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको थियो ।
बाघले राप्तीसोनारी गाउँपालिका वडा ४ र ६ का स्थानीयलाई पटक पटक आक्रमण गरेको थियो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार साहले बाघ अहिले राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको जानकारी दिए ।
प्रतिक्रिया