काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले कम्युनिस्ट उत्तेजनाको राजनीति गरिरहेको बताउनु भएकाे हाे ।
एमसीसी सम्झौतामा कम्युनिस्टले दोहोरो भूमिका खेलेर नागरिकलाई उत्तेजित बनाएको उल्लेख गर्दै उहाँले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताउनुभयो ।
महामन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभइ चेतना फैलाउने, भड्काउने नभइ मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताउनुभयो ।
‘आसन्न निर्वाचनका लागि पार्टी सङ्गठनलाई मजबुत बनाउँदै अघि बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो,’कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पुर्याउनुछ ।’
महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिनुभयो । आउँदाे निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया