कपिलवस्तु २१ चैत : कपिलवस्तुमा टाइफाइड रोग विरुद्ध भोलिदेखि संचालन हुन लागेको खोप अभियानको तयारी पुरा भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि कपिलवस्तुमा खोप अभियान सञ्चालन हुन लागेको हो । सो खोप अभियानका लागी खोप व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, आवश्यक सुचना सम्प्रेषण लगायतका सम्पुर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । प्रमुख पाण्डेका अनुसार सो खोप अभियानका लागी एक लाख ५० हजार डोज खोप शुक्रबार नै आईसकेको छ । आफुहरुलाई एक लाख ८४ हजार बालबालिकालाई खोप लक्ष्य दिएको भएता पनि २ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी रहेको प्रमुख पाण्डेको भनाई छ ।
उनका अनुसार जिल्लामा खोप लगाउने बालबालिकाको संख्या यकिन गर्दा २ लाख बढी देखिएकाले सो संख्यामा खोप लगाउन तयारी भएको हो । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने उनले बताए । यस्तै यता बाणगंगा नगरपालिकामा पनि खोप अभियानका लागी सम्पुर्ण तयारी पुरा भएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
बाणगंगा हरेक वडामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुको अध्यक्षतामा खोप अभियानको शुभारम्भ गर्न लागिएको उनले बताए । नगरका ६६ वटा विद्यालयलाई खोप केन्द्र मानेर यही चैत्र २५ गतेसम्म खोप अभियान संचालन गर्न लागेको उनले बताए । उक्त समययावधिमा खोप लगाउन छुटेका उक्त उमेर समूहका बालबालिकालाई समुदाय स्तरमा रहेका खोप केन्द्रबाट खोप लगाउने व्यस्था गरिएको उनको भनाई छ ।
नगरभित्र विद्यालयमा अध्ययन गर्ने २३ हजार र विद्यालय बाहिर रहेका ४ हजार गरि जम्मा २७ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्ध खोप लगाउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार बाणगंगामा उक्त खोप अभियानका लागी २१ हजार खोप आईसकेको छ भने थप खोप आउने क्रम जारी रहेको छ ।
दिसा मिसिएको, दुषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको हो ।
प्रतिक्रिया