काठमाडौं २३ वैशाख। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने गरिरहेको छ ।बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले २ जेठमा लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा मोदी सहभागी हुनेछन् ।
स्रोतका अनुसार मोदी समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँगै लुम्बिनीमा आयोजना हुने यूनेस्कोको उक्त कार्यक्रममा सँगै सहभागी हुने भए पनि काठमाडौं आउने कार्यतालिका भने छैन ।‘प्रधानमन्त्री मोदी लुम्बिनी आउने निश्चित भएको छ । बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रमको अतिथिका रूपमा यूनेस्कोले निमन्त्रणमा गरेको हो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवा र मोदी दुवैजना कार्यक्रममा सहभागी हुने भनिएको छ ।’मोदीले त्यही दिन वृहत्त लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भारत सरकारको कुनै परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । तर, उक्त परियोजना के हो भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया