पोखरा २३ जेठ। पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले कार्यभार सम्हालेको केही समयपछि सामाजिक सञ्जालमा लेखे, ‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई काम गर्ने वातावरण बनाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’राम्रो कामको सुरुआत गरेको भन्दै मेयर आचार्यले सकारात्मक प्रतिक्रिया पनि पाए । तर, उनी आफ्नै सार्वजनिक घोषणामा अडिग रहन सकेनन् । गएको शुक्रबार उनी एक सहकारी संस्थाको उद्घाटन गर्न पुगे ।
त्यसअघि मेयर आचार्य महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण शर्माको जन्मदिनमा मनाउन एक होटलमा पुगेका थिए । त्यहाँ काटिएको केकमा महानगरपालिका र दुई गैर सरकारी संस्थाको लोगो देखिएपछि मेयरको समेत आलोचना भएको थियो ।वरिष्ठ कानुन अधिकृत शर्मा महानगरका विवादित कर्मचारी हुन् । गत वर्ष शर्माले महानगरका लेखा प्रमुख जयराम पौडेललाई कार्यालयमै ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएको थियो ।
प्रतिक्रिया