खोज–अनुसन्धान

माधवको कच्चापन फेरी स्पष्ट : देउवाले भने मन्त्री फेरबदल हुदैन




काठमाडौँ — माधवकुमार नेपाल एमालेको करिब १५ वर्ष महासचिव भएर पार्टी चलाएका व्यक्ति हुन् । पार्टी भित्र विधि मिचिएर व्यक्ति हावी भएको भन्दै केपी ओलीको कार्यशैलीप्रति विमत्ति राखेर उनले करिब नौ महिना अघि नयाँ पार्टी गठन गरेर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बने ।उनी २०४८ सालपछिको संसदीय राजनीतिका सबै घटनाक्रमहरुलाई नजिकबाट नियाल्ने मात्र होइन त्यसमा संलग्न भएका पात्र पनि हुन्। त्यसैले उनलाई धेरैले परिपक्व नेताको रुपमा पनि चिन्ने गर्छन् । तर आइतबार र सोमबार आफ्नै पार्टीका मन्त्री फेरबदल गर्ने नाममा आफ्नो कच्चापन प्रदर्शन गरेका छन् ।आइतबार पार्टीको सचिवालय बैठक राखेर उनले आफ्ना पार्टीका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरे।

जुन निर्णय आफ्नै पार्टीका नेताहरुको विरोध र प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुको अहसमतिका कारण कार्यान्वयन हुन रोकिएको छ ।बहुदलीय संसदीय राजनीतिक प्रणालीमा गठबन्धन सरकार बनेको बेला पार्टीको सिफारिसमा मन्त्रीहरु बन्ने र हट्ने कुरा स्वाभाविक नै हो। प्रधानमन्त्रीभन्दा दलको निर्णय बढ्ता प्रभावी हुने अभ्यास नेपालमा चल्दै आएको पनि हो। तर हरेक निर्णयको कुन समयमा गरियो त्यो महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ । अध्यक्ष नेपालले त्यही समयको महत्व नबुझ्दा सोमबार आफैंले गरेको निर्णयबाट पछि हट्ने अवस्था आएको हो ।नेकपा एसले कस्तो बेलामा मन्त्री बदल्ने निर्णय गर्‍यो भने जुन बेला संसद्मा सरकारको वार्षिक बजेट प्रस्तुत भएर सांसदहरुले छलफल गरिररहेका छन्। सोमबारबाट मन्त्रालयगत छलफलमा मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुपर्ने कार्यक्रम पनि छ। तर नेकपा एसले यस्तो कच्चा निर्णय गर्‍यो कि आफैले बनाएको बजेटमाथि संसद्‍मा उठेका प्रश्नमा जवाफ दिने अवसर नदिई मन्त्रीहरुलाई बिदा गर्न चाह्यो। जुन घटना संसदीय परिपाटीमा अनौठो हो।
उक्त पार्टीबाट स्वास्थ्यमन्त्री समेत रहेका विरोध खतिवडाले भने,ुबजेट अधिवेशन चलिरहेको समयमा बजेट प्रस्तुत गरेको मन्त्री परिवर्तन कुरा अन्तर्राष्ट्रिय प्रचलनभन्दा बाहिरको विषय हो । जिम्मेवार पार्टी र नेताले यस्तो निर्णय गर्दैनन् ।ुनेकपा एसका तर्फबाट मन्त्री बनेकाहरुले करिब ८ महिना मन्त्रालय सञ्चालन गरे । उनीहरुले गरेको उल्लेखनीय काम त खासै केही देखिएको छैन। तर उनीहरुलाई पार्टीकै निर्णयमा हटाउनु पर्दा पनि उनीहरुलाई कम्तीमा जानकारीसम्म त हुनुपर्ने हो। तर अध्यक्ष नेपालले मन्त्री हटाउनेबारे आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र छलफल गरे। आफ्नै पार्टीका मन्त्रीहरुलाई सुइँको समेत दिएनन्। मन्त्री खतिवडाले यस विषयमा पार्टी अध्यक्षसँग आफूहरूको कुराकानी नभएको बताए । ‘म पनि स्थायी कमिटीमा छु । रामकुमारीजी पार्टीको सचिव नै हुनुहुन्छ । कहाँ कता के भयो हामीलाई कुनै जानकारी भएनु खतिवडाले भने।

आफूले नै विश्वास गरेर बनाएका मन्त्रीहरुलाई सुइँको नदिई फेरबदल गर्ने निर्णयले नेकपा एसभित्र अध्यक्षको शैलीमाथि प्रश्न उठेको छ। केही नेताहरुको बहकावमा लागेर गलत समयमा हटाउने निर्णय भएको भन्दै मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष नेपाललाई लागि आफैले गरेको निर्णय तब प्रत्युत्पादक बन्यो जब आफ्नै मन्त्रीहरू पार्टीको निर्णय रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोमा पुगे।पार्टी निर्णय आउनेबित्तिकै सरकारमा एसको पार्टीको तर्फबाट नेतृत्व गरिरहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा र पार्टीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री सक्रिय बनेका थिए ।

उनीहरूले पार्टी अध्यक्ष नेपाल मात्रै नभएर गठबन्धनका अन्य नेताहरुलाई भेट गरेका थिए। बजेटको विषयमा सदनमा छलफल जारी रहेको सन्दर्भमा मन्त्री हटाउन नहुने उनीहरुको तर्क थियो। उनीहरुले जारी छलफलको बीचमा मन्त्री हटाउँदा त्यसले सन्देश पनि राम्रो नजाने बताएका थिए।नेकपा एसको निर्णय रोक्न त्यही पार्टीका नेताहरु बालुवाटार र खुमलटार पुग्नु अध्यक्ष नेपालका लागि सुखद होइन। अध्यक्ष नेपालले यो निर्णय गर्नुअघि सत्तागठबन्धनको निरन्तरताका लागि आइपर्ने स‌ंकट र बजेट पास गर्न समेत पर्न सक्ने अप्ठेरो ख्याल गर्नुपर्ने थियो। तर त्यो ख्याल नगरी निर्णय गर्दा सोमबार बालुवाटारको बैठकमा नेता नेपाल डिफेन्सिभ बन्नुपर्‍यो। किनकि मन्त्री फेरबदलले ल्याउने असन्तुष्टि र निर्वाचनमा आएको परिणामबाट चिढिइरहेको जसपाले कुनै फरक कदम चालेको अवस्थामा सरकारलाई बजेट पास गर्न समेत असर पर्ने जोखिम थियो। अर्को त, नेकपा एसको मन्त्री बदल्ने निर्णयले गठबन्धनका अन्य दलमा पनि नयाँ मन्त्री लैजानुपर्ने दबाब आइतबारबाटै सुरु भइसकेको थियो । यस्तो स‌म्भावित परिदृश्यको आ‌कलन नगरी निर्णयमा पुग्दा नेपाललाई अप्ठेरो पर्‍यो ।

हुन त नेताहरुले तर्क गरेका छन् ६ महिनापछि मन्त्री बदल्ने पार्टीको पूर्वनिर्णय नै हो। अध्यक्ष नेपालले नै आइतबार कान्तिपुरसँग भनेका थिए,सरकारको निर्माणका बेला ६ महिनाका लागि एक सेट र त्यसपछि अर्को सेट पठाउने निर्णय भएको थियो। त्यो निर्णयलाई अहिले कार्यान्वयन गरिएको हो। फिर्ता आउने मन्त्रीलाई कारबाही गरिएको होइन। पूर्ववत् निर्णय मात्र कार्यान्वयन गरिएको हो।पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आइतबार सचिवालय बैठकपछि २४ घण्टाभित्रै निर्णय कार्यान्वयन गर्ने जानकारी दिएका थिए। नयाँ सिफारिस भएका मन्त्रीहरुले त आइतबार नै बधाई साटासाट र मिडियामा प्रस्तावित मन्त्रालयमा आफूले पेस गर्ने कार्ययोजनाबारे समेत बोलिसकेका थिए। तर नेकपा एसको सचिवालयमा भएको उक्त निर्णय २४ घण्टामै थमौतीमा पर्‍यो। जुन निर्णय कार्यान्वयन गराउन नेता नेपालले गठबन्धनको बैठकमा अडान लिन सकेनन्।

प्रधानमन्त्री देउवाको नेतृत्व सरकारमा एकीकृत समाजवादी समावेश हुँदा उसको भागमा ४ मन्त्रालय परेको थियो। सो दलले बढीमा एक राज्यमन्त्रीसहित ५ जना नेतालाई त्यसमा पठाउन सक्थ्यो। तर एसभित्र कम्तीमा ९ नेताको मन्त्रीमा दाबी थियो। त्यस समयमा समाधानको उपायमा ६(६ महिना मन्त्री परिवर्तनको मोडललाई अघि सारिएको थियो।पहिलो समूहमा खतिवडाको नेतृत्वमा सहरी विकासमा झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ, पर्यटनमा प्रेम आले र स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्। आइतबार सो पार्टीले खापुङलाई स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्रीमा पठाउनुका साथै पर्यटनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई मन्त्री बनाउने निर्णय गरेको थियो। जुन निर्णय कार्यान्वयन भएन।
मन्त्रिपरिषद् हेरफेरको विषय राष्ट्रिय आवश्यकताभन्दा पनि पार्टीको आन्तरिक मामिला व्यवस्थापनका लागि मात्रै आयो ।
पहिले नै सहमति भएको भए पनि नेकपा एसले नेताहरूको पालो पुर्‍याउनकै लागि मात्र मन्त्रीहरू फेरबदल गर्न लागेको देखियो। जबकि मन्त्री भनेको पार्टीको भागबन्डा मिलाउने साधन बन्न नहुने हो । तर अध्यक्ष नेपालले सबैलाई खुसी पार्ने प्रयास गर्दा यो निर्णयमा उनको कच्चापन छताछुल्ल भयो।यो निर्णयले लामो समयमा देशको प्रमुख पार्टीको नेतृत्व गरेर र प्रधानमन्त्री भइरहेका अध्यक्ष नेपालको साखलाई गिराएको मात्र छैन निर्णय प्रक्रियामा रहेको कमजोरीलाई समेत देखाएको छ। कुनै पनि निर्णय गर्दा त्यसको परिस्थिति र हुनसक्ने सम्भावित परिणामको बारेमा कुनै प्रकारको लेखाजोखा नगर्दा निर्णय कसरी बेवारिस बन्छ भन्ने पाठ पनि नेकपा एसलाई यो घटनाले सिकाएको हुनुपर्छ ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६